© २०२३
बुटवल ।
लुम्बिनी विकास कोषका योजना प्रमुख ईन्जिनियर सरोज भट्टराईलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले भट्टराईलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रीतेन्द्र थापाको इजलाशले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध गत चैत २५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
इन्जिनियर भट्टराईले पदीय दुरुपयोग गरी कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ घुस खाएको र त्यो रकम जग्गामा लगानी गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो । भट्टराईले आमा जनक नन्दनी भट्टराईको नाममा भक्तपुरको गुण्डु गाविस–३ स्थित २ रोपनी ९ आना २ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७४ र २ आना १ पैसा क्षेत्रफल भएको कित्ता नम्बर १३७५ को जग्गा खरिद गरेका थिए। जग्गाको मोल तिरिदिने भने ठेकेदार थिए । भट्टराईले सो जग्गा खरिद गर्नका लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण कम्पनीका सञ्चालकसँग घुष लिएर त्यो जग्गा किनेको अदालतको ठहर छ र जग्गा जफत हुने फैसला पनि अदालतले सुनाएको छ ।
भट्टराईलाई सजाय तोक्नका लागि बेग्लै सुनुवाइ हुनेछ । सजाय निर्धारणका लागि जेठ ३१ गते पेसी तोकिएको छ । ३ वर्षभन्दा बढी कैद हुने अपराधमा अदालतले कसुर ठहर गरेपछि सजाय निर्धारणका लागि बेग्लै सुनुवाइ गर्छ। कोषको वरिष्ठ इन्जिनियर पदका कर्मचारी भए पनि भट्टराई विगत ७ वर्षदेखि योजना प्रमुखको नियुक्ति लिई काम गरिरहेका थिए ।