© २०२३
भैरहवा, २३ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशन बुधबारदेखि सुरु भएको छ । अधिवेशनको एमाले केन्द्रीय उपाध्यक्ष एवं पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका छन् ।
अधिवेशनको उदघाटनमा पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भनिए पनि कार्यव्यस्तताका कारण भन्दै अनुपस्थित भए । बिहीबारसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
अधिवेशनको उदघाटन गर्दै उपाध्यक्ष पौडेलले मुलुकको विद्यमान संकट समाधान र जनआकांक्षा सम्बोधनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी रहेको बताए । उनले एमालेले नेतृत्व गर्न पाए एक दशकमै मुलुकको कायापलट गर्ने दाबी गरे ।
उनले भने–“संविधानले प्रदान गरेको अधिकार नागरिकले कहिले उपभोग गर्न पाउँछन् ? आजको अहम प्रश्न यहीँ हो । जिम्मेवारी पनि यही हो ।” नेता पौडेलले एमालेले नेतृत्व गर्न नपाएका कारणले मुलुक पछि परेको र नागरिकहरुमा तमाम समस्या उत्पन्न भएको बताए ।
पौडेलले भने, “संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन राष्ट्रिय शक्तिको मियोका रुपमा र निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी छ ।” मुलुकका सफल अर्थमन्त्रीका रुपमा लिइने नेता पौडेलले समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताए ।
विभेद र असमानतालाई अन्त्य गरेर समतामूलक समाज निर्माणका लागि एमालेको अगुवाइ जरुरी रहेको बताउँदै नेता पौडेलले सोही अनुसारको भूमिका निर्वाह गर्न आग्रह गरे ।
उनले भने, “संविधानको कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी जनताको राष्ट्रिय आकांक्षा र लक्ष्यलाई साकार पार्ने गरी अगाडि बढ्नु नै आजको आवश्यकता रहेको छ ।”
अधिवेशन उदघाटन कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले कार्यकर्ताले एमालेको जिल्ला अधिवेशनलाई उत्सवको रुपमा लिनुपर्ने भन्दै नेतृत्व चयनमा खिचातानी नगर्न आग्रह गरे ।
उनले स्वार्थ भन्दा माथि उठेर पार्टी संगठन निर्माण र मुलुक रुपान्तरणको अभियानमा लाग्न पनि कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले एमाले नै देशको भरपर्दो पार्टी रहेको बताइन् । “गएका उपनिर्वाचनको परिणामले पनि एमाले नै देशको बलियो र भरपर्दो पार्टी भएको पुष्टि भएको छ”–उनले भनिन् ।
एमाले रुपन्देहीले बिगतमा राष्ट्रलाई नै सन्देश दिने काम गरेको भन्दै उनले अब पनि नेतृत्व चयनका माध्यमबाट राष्ट्रव्यापी सही सन्देश पु¥याउने बताइन् ।
एमाले पोलिटब्यूरो सदस्य लिला गिरी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेललगायतले पार्टी संगठनलाई बलियो बनाएर मात्र देश निर्माणमा जुट्न सकिने बताएका थिए । अधिवेशन उदघाटन सत्रमा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । बन्दसत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिएको छ । रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य संगठित रहेको र उत्तिकै संख्यामा शुभेच्छुक रहेको अध्यक्ष तेजेन्द्र केसीले बताए ।