© २०२३
सुनवल, १८ जेठ
पश्चिम नवलपरासीमा बिहीबार साँझ आएको तीव्र गतिको हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीले जिल्लाका विभिन्न स्थानमा एक सय २६ ओटा पोलमा क्षति पुगेको छ ।
अधिकांश पोल ढलेका कारण मर्मतको काम भईरहेको विद्युत प्राधिकरण परासी वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले जानकारी दिए । बर्दघाट र परासी वितरण केन्द्र अन्तर्गतका पाँच ओटा ट्रान्सफर्मरमा पनि क्षति पुगेको छ । केही ट्रान्फर्मर खसेर विग्रिएकाले नयाँ जडान गर्नुपर्ने कतिपय सञ्चालनमा ल्याउन सकिने सम्भावना रहेकाले प्राविधिक टोलीले काम गरिरहेको विद्युत प्राधिकरणले जनाएको छ ।
अहिले जिल्लाको सदरमुकाम परासीका केही स्थान सहित, सुनवल, बर्दघाट, सरावल र प्रतापपुर क्षेत्रमा विद्युत सेवा अवरुद्ध रहेको छ । शुक्रबार साँझ अबेर सम्म विद्युत सेवा सुचारु गर्ने कोसिस भईरहेपनि सबै ठाँउमा सुचारु हुन सक्ने सम्भावना नरहेको प्राधिकरणले जनाएको छ ।
बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त कुमार झा ले ७६ वटा पोल ढलेको र तीन ओटा ट्रान्सफर्मरमा क्षति पुगेकाले आजै सबै ठाउँमा विद्युत सुचारु गर्न सम्भव नभएको जानकारी दिए । बढी क्षति भएको ठाँउमा बाहिरबाट प्राविधिक टोली मगाएर काम भईरहेको पनि झाले जानकारी दिए । जिल्लाभर नै एकै पटक धेरै क्षती भएकाले काम गर्न समस्या भएको प्राधिकरणले जनाएको छ । चर्काे गर्मीको समयमा विद्युत अवरुद्ध हुदा जनजिवन कष्टकर बनेको छ ।
तीव्र बेगको हावाहुरीका कारण सरावल, सुनवल र बर्दघाट क्षेत्रमा अधिकांश कच्ची घरका टिनका छाना उडाएको छ भने कृषि फर्महरुमा पनि क्षति पुगेको छ । ठाउँ ठाउँमा रुख ढलेर घरमा लाग्दा पक्की घरमा समेत क्षति पुगेका विवरणहरु प्राप्त भईरहेका छन् ।