© २०२३
बुटवल ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसदसहित ३५ जनालाई मुद्दा चलाउनुपर्ने भन्दै प्रहरीले प्रतिवेदन पेश गरेको छ।
बचतकर्ताको रु १६ करोड ५८ लाखभन्दा बढी रकम हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलानुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट बर्दियाबाट प्रतिनिधिसभा सदस्य गीता बस्नेत, उनका ज्वाइँ नगेन्द्रबाबु रिमाल, सहकारीका व्यवस्थापक बर्दियाका योगेन्द्र पाण्डे, सहकारीका अध्यक्ष कावासोतीका गोपिकृष्ण शर्मा, बिनाधितो ऋण लिने बर्दिया घर भएका शिवलाल लामिछानेसहित ३५ जनालाई प्रतिवादी बनाउन सरकारी वकिललाई सुझाव दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए।
रकम हिनामिनामा मुख्य योजनाकार हालका व्यवस्थापक योगेन्द्र पाण्डे देखिएको प्रहरी र सहकारी रजिष्ट्रार कार्यालयको अनुसन्धानबाट खुलेको छ। सात वर्षसम्म सहकारी अध्यक्ष र व्यवस्थापक रहेका पाण्डेले आफू निकटका व्यक्तिलाई बिनाधितो ऋण प्रवाह गरेको अनुसन्धामा देखाएको प्रहरी उपरीक्षक रेग्मीले बताए।