दाङ, जेठ ३ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्रकुमार पुन मगरले बेलझुण्डीमा आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका लागि प्रदेश सरकार लागि पर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको केन्द्रीय आयुर्वेद विद्यापीठको अवलोकन गर्दै मन्त्री पुनले ‘कोरोनाको महामारीमा प्रदेश सरकारको कोरोना विशेष अस्पतालका रुपमा रहेको शिक्षण अस्पताल सञ्चालनका लागि बजेटको प्रबन्ध प्रदेश सरकारले गर्ने बताए ।’
दाङलाई आयुर्वेद चिकित्सा शास्त्र अध्ययनको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउँदै मन्त्री पुनले प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने बताए । ‘नेपाल संस्कृत विश्वविद्यालयले बेलझुण्डीमा आयुर्वेद चिकित्सा शास्त्र अध्ययनको थालनी गरेर मुलुकलाई आवश्यक जनशक्ति उत्पादन गरिरहेको छ ।
यसलाई हामीले अवसरका रुपमा लिनुपर्छ’ मन्त्री पुनले भने । ‘दाङलाई आयुर्वेद चिकित्सा शास्त्र अध्ययनको केन्द्रका रुपमा विकास गर्नुपर्दछ । यसका लागि प्रदेश सरकारले बजेटको व्यवस्थापन गर्छ ।’ बेलझुण्डीमा २ सय बेडको एकीकृत अस्पताल बनाउने सरकारले मुख्य योजना रहेको भन्दै मन्त्री पुनले पूर्ववर्ती सरकारको उक्त योजनालाई पुन: सञ्चालनमा ल्याउने भन्दै मन्त्री पुनले राजनीतिक सहमति कायम गर्नतर्फ विश्वविद्यालय लाग्नुपर्ने बताए । बजेटको आकार घटिरहेको संकेत गर्दै मन्त्री पुनले अस्पताल सञ्चालनका लागि तत्काल न्यूनतम बजेटको प्रबन्ध गर्ने प्रतिबद्धता जनाए ।
उक्त अवसरमा उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेले विश्वविद्यालयका उपलब्धीको विषयमा मन्त्री पुनलाई जानकारी गराए । संघीय सरकारको पहिलो प्राथमिकताको आयोजनाका रुपमा रहेको २ सय बेडको एकीकृत अस्पताल निर्माणको योजनालाई अलपत्र पारिएकोमा दु:ख व्यक्त गर्दै उपकुलपति लामिछानेले उक्त योजनालाई अगाडि बढाइदिन आग्रह गरे ।
‘संघीय सरकारको पी वान प्रोजेक्टका रुपमा रहेको बेलझुण्डी एकीकृत अस्पताल निर्माणको योजना अलपत्र गरेको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारको प्राथमिकताको आयोजना पछिल्लो सरकारको प्राथमिकतामा नपर्दा अलपत्र परेको ’ उपकुलपति लामिछानेले बताए ।
‘घोराही र तुलसीपुरको बिच भागमा रहेको यो क्षेत्रमा एकीकृत अस्पताल निर्माण गर्न सकेका यहाँका नागरिकलाई राहतको महसुस हुने र आयुर्वेद चिकित्सा शास्त्र सञ्चालनका लागि विश्वविद्यालयलाई सहज हुने अपेक्षाले उक्त आयोजना अगाडि बढाएका थिए ।’ त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद चिकित्सा शास्त्र अध्यापन गराइरहेको बताउँदै उपकुलपति लामिछानेले संस्कृत विश्वविद्यालयको आयुर्वेद चिकित्सा शास्त्र नमुना र स्तरिय भएको दाबी गरे ।
चिकित्सा शिक्षा आयोगले आयुर्वेद चिकित्सा शास्त्र अध्यापनका लागि १ सय बेडको शिक्षण अस्पताल सञ्चालन अनिवार्य गरेको बताउँदै उपकुलपति लामिछानेले प्राविधिक र आर्थिक दुवै कारणले शिक्षण अस्पताल सञ्चालन गर्न नसकेको बताए ।
कार्यक्रममा बोल्दै शिक्षाध्यक्ष प्रा.डा. भीमप्रसाद खतिवडाले प्रायोगीक विषयका रुपमा रहेका योग विज्ञान, आयुर्वेदमा सरकारले लगानी बढाउनुपर्ने बताए । कुलसचिव प्रा. माधव अधिकारीले आयुर्वेद चिकित्सा शास्त्र स्थापना र सञ्चालनमा आइपरेका कठिनाइका बारेमा मन्त्री पुनलाई जानकारी गराएका थिए ।
राप्ती प्रादेशीक अस्पताल तुलसीपुर व्यवस्थापन समितिका अध्यक्ष पदम न्यौपानेले आयुर्वेद शिक्षण अस्पताल सञ्चालनका लागि प्रादेशीक अस्पतालले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा विश्वविद्यालयका उपप्रशासक विनयकुमार पोख्रेलले कोरोना अस्पताल सञ्चालनका लागि प्रदेश सरकारलाई विश्वविद्यालय भवन र जनशक्ति उपलब्ध गराएर सहयोग गरेको स्मरण गराउँदै उही कोभिड अस्पताल सञ्चालन गर्दा प्रदेश सरकारले गरेको प्रतिबद्धता अनुसार आयुर्वेद शिक्षण अस्पताल र एकीकृत अस्पताल सञ्चालनमा नीतिगत र आर्थिक दुवै सहयोग उपलब्ध गराउनुपर्ने बताए । कार्यक्रममा विश्वविद्यालयका डीन, केन्द्रीय आयुर्वेद विद्यापीठका प्राचार्य, महाशाखा प्रमुख, शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।