© २०२३
नवलपुर, २९ वैशाख ।
विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा हालसम्म ८५ दशमलव २५ प्रतिशत भौतिक प्रगति भएको छ । निर्माण सुरु भएको ४२ महिनामा सडक विस्तारको काम सक्नेगरी वि.सं २०७५ माघमा निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सरकारसँग सम्झौता गरेर काम सुरु गरेको थियो ।
दोस्रोपटक थप भएको म्याद आगामी साउन ८ गते सकिने यस खण्डमा हालसम्म एकतर्फी गणना गर्दा ६७ किलोमिटर कालोपत्रे, २१ साना पुल निर्माण, एक सय ६३ कल्भर्ट निर्माण भएको तथा आठ ठूला पुलको निर्माण अन्तिम चरणमा रहेको नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । बाटो सम्याउने ग्रेडर आवश्यकता भन्दा आधा कम भएको भन्दै उनले १५ वटा ग्रेडरले सम्याएर बेस बनाउँदा समय लाग्ने र कालोपत्रको काम ढिला हुने बताए ।
सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन लिमिटेडले सडक विस्तारको कालोपत्रे गर्ने कार्यलाई अघि बढाएको जनाएको छ । कम्पनीका ठेक्का सहव्यवस्थापक राकेश झाले नारायणगढ–बुटवल सडकको कावासोती, मध्यविन्दु र गैडाकोट थुम्सीमा कालोपत्र गर्ने तयारी भैरहेको बताए ।
विस्तार सुरु भएको पाँच वर्ष नाघ्दासमेत आधा मात्रै काम सकिएको सडकमा उड्ने धूलोका कारण स्थानीय र यात्रुहरूले सास्ती खेप्नुपर्ने बाध्यता छ । कालोपत्रे नभएको ठाउँमा उड्ने धुलोका कारण सडक देख्नै समस्या हुने तथा खाल्डाखुल्डीका कारण दुर्घटनासमेत हुने गरेको छ ।