© २०२३
बुटवल, २३ बैशाख । रुपन्देहीमा जारी जेट नेपाल यु—१४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा बुद्ध पब्लिक स्कुल र स्टार क्रिकेट एकेडेमी विजयी भएका छन । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा शनिबार भएको पहिलो खेलमा बुद्ध पब्लिकले वेष्ट्रन क्रिकेट एकेडेमीलाई १२५ रन तथा स्टारले शान्ति नमुना माबिलाई ४ बिकेटले पराजित गरेको हो ।
नहरपुर माविस्थित खेलमैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको बुद्ध पब्लिकले निर्धारित २० ओभरमा ९ बिकेटको नोक्सानीमा १६७ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि आकाश न्यौपानेले १८ बलमा २८, बिनय कार्कीले २७ बलमा ३९ र रोहित कुवरले १२ बलमा २१ रनको योगदान दिएका थिए । वेष्ट्रनका अर्पसन बिक्रम जिसीले ४ तथा नेशन पोखरेलले २ बिकेट लिए । बिशाल लक्ष्इ पछ्याएको वेष्ट्रन १०.४ ओभरमा केवल ४२ रनमा समेटियो । वेष्ट्रनका नेशन पोखरेलले १२ रनबाहेक अन्य ब्याट्सम्यान दोहोरो रन जोड्ने सकेनन । कम स्कोरमा रोक्न बुद्ध पब्लिकका आकाश बिकले ३ तथा रोहित कुवर र सुगन फुल्देलले समान २—२ बिकेट लिए । खेलमा बुद्ध पब्लिकका रोहित कुवर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा टस जितेर शान्ति नमुनाले निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १०४ रनको लक्ष्य खडा गरेको थियो । शान्तिका ओपनर ह्रदम भट्टराईले शानदार नटआउट अर्धशतक पारी खेले । उनले ५८ बलमा अर्धशतक बनाएका थिए । त्यसबाहेक अन्य ब्याट्सम्यान भने क्रिजमा टिक्न सकेनन । स्टारका राहुल क्षेत्रीले ३ तथा सोहन अलि मुसलमानले २ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको स्टार १८.४ ओभरमा ६ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । स्टारका सम्राट राईले २१ बलमा १८ तथा राहुल क्षेत्रीले १७ बलमा १९ रन जोडे । स्टारका राहुल क्षेत्री प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।