© २०२३
बुटवल, २२ वैशाख ।
जिल्ला भलिबल सँघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो पुरुष भलिबल प्रतियोगिताको उपाधि शुद्धोधन गाउँपालिकाले हात पार्न सफल भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित मणिमुकुन्द भलिबल क्लबको मैदानमा सन्चालित भलिबल प्रतियोगितामा देवदह नगरपालिकालाई हराउँदै शुद्धोधन गाँउपालिका बिजयी भएको हो ।
रोचक रहेको प्रतियोगितामा देवदहलाई ३–२ सेटमा पराजित गर्दै शुद्धोधन गाउँपालिका प्रथम हुन सफल भएको हो । जितसँगै उसले नगद ५५ हजार सहित कप, मेडल, प्रमाण पत्र हात पारेको छ । देवदह नगरपालिका उपबिजेता बनेको छ । देवदहले नगद ३५ हजार, कप, मेडल, प्रमाणपत्र हात पारेको छ । तेस्रो स्थान ओगट्न सफल तिलोत्तमा नगरपालिकाले नगद २५ हजार, कप, मेडल, प्रमाणपत्र हात पारेको छ भने कन्चन गाउँपालिकाले १५ हजार, कप, मेडल, प्रमाणपत्र हात पारेको खेल संयोजक लोकेन्द्र भण्डारीले बताए ।
समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले समाजमा भलिबल खेलको माग बढ्दै गएको भन्दै भलिबल वा अन्य खेलकुदमा लागेका युवाहरुको सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका रहेको बताए ।
खेलाडीहरुले आफ्नो खेल विकाससँगै देशको समेत पहिचान बनाउने हँुदा खेलकुद क्षेत्रको बिकास पूर्वाधार निर्माणमा सबै पक्ष लाग्नुपर्ने बताए । खेलले मानिसलाई अनुशासित र लगनशील बनाउने नगर प्रमुख खाणको भनाई छ ।
कार्यक्रममा जिल्ला भलिबल सँघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले भलिबल खेल सबैको रुचिको बिषय भएपनि यसको बिकास र पूर्वाधार निर्माणमा कसैको ध्यान नपुगेको गुनासो गरे । जिल्ला भित्र रहेका भलिबलका खेलाडीको खोजी र खेलको विकास गर्न आयोजित प्रतियोगिता सम्पन्न गर्न बिभिन्न संघ सस्थाहरुसँग चन्दा मागेर कार्यक्रम गर्नुपरेको भन्दै राज्यले खेलकुद प्रतियोगिताहरुलाई बिशेष सहयोग गर्नुपर्ने बताए । भलिबल खेल राष्ट्रिय खेल भएपनि यसको विकासका लागि खेलाडी उत्पादनमा राज्यले खासै चासो नदिएको गुनासो गरे ।