© २०२३
सुर्खेत, २१ वैशाख ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा प्रेसको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
‘विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४’का अवसरमा शुभकामना व्यक्त गर्दै कँडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि विभिन्न कालखण्डमा पत्रकार एवं सञ्चारकर्मीहरूको संघर्र्ष र योगदान रहेको बताए ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण र मजबुत पक्ष हो’, कँडेलले भने, ‘लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा प्रेसले खेलेको भूमिका प्रशंसनीय छ ।’ प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा नभई आम नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हकलाई प्रचलनमा ल्याउने महत्वपूर्ण माध्यम भएको बताउँदै उनले प्रेसले व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।
संविधानले प्रेस तथा सूचना प्रविधिसम्बन्धी कतिपय अधिकार प्रदेश सरकारलाई प्रदान गरेको भए तापनि सोही अनुसार कानुनी व्यवस्था नभएको बताउँदै पत्रकारिता क्षेत्रलाई स्वनियमनतर्फ प्रोत्साहित गर्दै लैजानुपर्ने जनाए । उनले पत्रकारितालाई लोकतान्त्रिक मूल्यभित्र रहेर यस क्षेत्रको प्रवद्र्धनका लागि आगामी दिनमा प्रदेश सरकारको त्यसतर्फ ध्यान जाने विश्वास समेत व्यक्त गरे ।