© २०२३
बुटवल,२० बैशाख । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान स्पिनर सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार भएको पीडा पोख्दै षड्यन्त्र गर्नेहरुको नाम छिटै सार्वजनिक गर्ने बताएका छन् । नेपाल क्रिकेट संघ क्यानले दोस्रो पटक खेल्न लागेको टी–२० विश्वकपका लागि १५ सदस्यीय टिम घोषणा गरे लगतै सन्दिपले स्टाटस लेखेका हुन् । आफ्नो क्रिकेट करियर ध्वस्त बनाइएको ठम्याउंदै उनले आफूलाई क्रिकेटमा अघि बढ्न नदिने र विश्वकप खेल्न नपाउने गरी षड्यन्त्र भएको महसुस गरेर गहिरो पीडा व्यक्त गरेका हुन् ।
‘‘मैले लामो समय पोस्ट गर्नबाट आफूलाई टाढा राखें । म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ’, उनले लेखेका छन् ।
अर्को स्टाटसमा उनले यस षड्यन्त्रको भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्।’
सन्दीप बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका छन् । जिल्लाको फैसलामाथि उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ । कतिपयले सन्दिपले उच्च अदालतबाट पनि सफाई नपाउने संकेत पाएपछि आफ्नो पीडा लगातार पोखिरहेको रुपमा उनका स्टाटसलाई हेरेका छन् ।