© २०२३
बुटवल, १९ बैशाख ।
जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो पुरुष भलिवल प्रतियोगिताको उद्घाटन खेलमा चार पालिका अघिल्लो चरणमा प्रवेश गरेका छन् । तिलोत्तमा र देवदह नगरपालिका, शुद्धोधन र कञ्चन गाउँपालिका अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विभिन्न समयमा हुने खेलकुद प्रतियोगिताहरुले खेलाडीको खेल विकास सँगै खेलकुदबाट देश बिदेशमा समेत पहिचान बनाउने बताए ।
पछिल्लो समय बुटवल उपमहानगरपालिकाले नगर भित्र हुने हरेक खेलकुदका कार्यक्रमलाई सबै क्षेत्रबाट सहयोग गदै आएको भन्दै नगर प्रमुख पाण्डेयले भने, “बुटवलको पहिचान बनाउन खेलकुद क्षेत्रको विकासमा उपमहानगरपालिका लागिरहेको छ ।”
भलिबल खेल आफैमा सबैको रोजाईमा पर्ने खेल भएकाले यसको विकास गर्ने विद्यालय स्तरबाट प्रतियोगिताहरु सन्चालन गदै खेलाडी उत्पादनमा लाग्नुपर्ने उनको सुझाए ।
लुम्बिनी प्रदेशका सदस्य सचिव जयप्रकाश भट्टराईले पछिल्लो समय भलिवल खेलकुदका कार्यक्रमहरुले प्रदेशभरी गति लिएको भन्दै भलिबल खेल राष्ट्रिय खेल भएकाले यसको विकास गर्ने सबै क्षेत्र लाग्नुपर्ने बताएका थिए ।
जिल्ला भलिबल संघले नगर स्तरीय भलिवल प्रतियोगिता आयोजना गरेर नगर भित्रका खेलाडीको पहिचान गराउन ठूलो भूमिका खेलेको भन्दै आयोजकलाई धन्यबाद समेत दिएका थिए । जिल्ला भलिबल सँघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य नै नयाँ खेलाडी खोज्नु रहेको बताए । सबै क्षेत्र अप्ठ्यारो अवस्थामा रहेका बेला सानो सानो सहयोगबाट प्रतियोगिता आयोजना गरिएको भन्दै यो प्रतियोगिताले रुपन्देहीका भलिबल खेलाडीको पहिचान र जिल्लाको एउटा उत्कृष्ट टिम बनाउन सहयोग पुग्ने अध्यक्ष शाक्यको भनाई छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका उपाध्यक्ष योग गुरुङ, नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पिया, महासचिव सेरजंग गुरुङ, खेल सँयोजक लोकेन्द्र भण्डारी लगायतले शुभकामना दिएका थिए ।
३ दिन सम्म सञ्चालन भलिवल प्रतियोगितामा प्रथम हुनेले नगद रु ५५ हजार, कप मेडल प्रमाणपत्र पाउने छन् र द्रोस्रो हुनेले नगद रु ३५ हजार, कप मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् ।
तेस्रो हुने टिमले नगद रु २५ हजार, कप, मेडल प्रमाणपत्र पाउनेछन । सान्त्वना हुने टिमले नगद रु १५ हजार कप मेडल प्रमाणपत्र हात पार्ने छन् भने प्रतियोगितामा अनुशासित हुने टिमले समेत कप प्रमाणपत्र पाउने खेल संयोजक लोकेन्द्र भण्डारीले बताए । प्रतियोगितामा हाल सम्म ८ बटा पालिकाहरुको भागलिएको संयोजक भण्डारीको बताए ।