Butwal Today

आगलागीमा परेर चार वर्षीया बालिकाको मृत्यु

१७ बैशाख २०८१, सोमबार
अ+
अ-

सन्धिखर्क, १७ वैशाख ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ५ असुरकोटमा आगलागीमा परी एक बालिकाको ज्यान गएको छ । सोमबार दिउँसो आगोले जलेर बालिकाको ज्यान गएको हो ।

असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा सोमबार दिउँसो आगलागी हुँदा घरभित्र रहेकी ४ वर्षीया अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताए । हजुरबुबा घर बाहिर गएको समयमा आगलागी भएकोले घर भित्र रहेकी बालिकाको भित्रै जलेर मृत्यु भएको प्रहरीको भनाई छ ।

आगलागीमा खिमबहादुर बिक र बारबहादुर बिकका २ घर र २ गोठ गरी ४ घरगोठ समेत जलेर नष्ट भएको वडा अध्यक्ष जय गोपाल श्रेष्ठ ले बाताए । आगलागीको कारण बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।