© २०२३
काठमाण्डाै –
नेपाल र वेस्ट इन्डिज ‘ए’ टोलीबीचको पाँच खेलको टी–२० क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । उद्घाटन खेल दिउँसो सवा १२ बजेदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ ।
यस्तै दोस्रो खेल आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । सबै खेल कीर्तिपुरमै हुनेछ ।
नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ ।
वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो । यो शृङ्खलाका लागि दुवै टोलीले खेलाडी घोषणा गरिसकेका छन् । नेपाली टोली रोहित पौडेल र वेस्ट इन्डिज ‘ए’ रोस्टन चेसको कप्तानीमा खेल्दैछ ।
नेपाली टिममा चार खेलाडी थपिए
नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजका लागि चार खेलाडी थपेको छ । क्यानका सचिव पारस खड्काले विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बमलाई टोलीमा समावेश गरिएको जानकारी दिए ।
यसअघि नेपालले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको थियो । जसमा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव र आकास चन्द रहेका छन् ।
मुख्य प्रशिक्षक मोन्टी देशाइले वेस्ट इन्डिज ‘ए’ को खेल विश्वकपको तयारीका लागि निकै राम्रो अवसर हुने बताएका छन् ।