© २०२३
दाङ, १२ वैशाख ।
प्राचिन एवं पुरातात्विक महत्व बोकेको गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठ घोराही उपमहानगरपालिका–१७ चौघेरामा सुविधा सम्पन्न सिद्धरत्ननाथ धर्मशाला निर्माण हुने भएको छ । लुम्बिनी प्रदेश सरकार पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेमार्फत चौघेरामा धर्मशाला निर्माण हुन थालेको हो । सुविधा सम्पन्न एउटा सभाहलसहित ३० कोठा भएको तीनतले धर्मशाला निर्माण हुन थालेको धर्मशाला निर्माण समितिका अध्यक्ष बलदेव योगीले जानकारी दिएका छन् ।
बुधवार सुविधा सम्पन्न धर्मशालाको निर्माणको शिलान्यास गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठका मठाधीश योगी ब्रह्मनाथ, घोराही उपमहानगरपालिका –१७ का वडा अध्यक्ष रामलौटन चौधरी, धर्मशाला निर्माण समितिका अध्यक्ष बलदेव योगीलगायतले संयुक्त रुपमा गरे ।
बहुवर्षीय योजना अनुसार ५ करोड बढीको लागतमा निर्माण हुन थालेको धर्मशालाका लागि यो वर्ष ३० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । उक्त बजेटबाट धर्मशाला निर्माणको काम सुरु भएको र आगामी वर्ष क्रमशः थप बजेटबाट पूर्वाधार निर्माणको काम हुने समितिका अध्यक्ष बलदेव योगीले बताए ।
गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठको विकासका लागि २०७९–०८० मा बनेको गुरुयोजना अनुसार धर्मशाला निर्माणको काम अघि बढेको बताईएको छ । प्राचिन एवम् पुरातात्विक महत्व बोकेको गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा सुविधा सम्पन्न धर्मशाला नहुँदा दर्शन तथा अध्ययनका लागि आउने भक्तजन तथा साधुसन्ताई बस्ने समस्या रहेको छ । धर्मशाला नहुँदा चौघेरा आउने भक्तजन तथा साधुसन्तहरुलाई बास बस्नका लागि समस्या हुने गरेको थियो । धर्मशाला निर्माण भएपछि गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा पूजापाठ तथा ऐतिहासिक पक्षको अध्ययन गर्न आउने भक्तजनसँगै साधुसन्तहरुलाई सहजता हुने योगीले बताए ।
प्रदेश सरकार अन्तर्गत पर्यटन डिभिजन कार्यालय कोहलपुरले बनाएको गुरुयोजना अनुसार चौघेरा मन्दिर परिसरमा व्यवस्थित तथा सुविधा सम्पन्न धर्मशाला, योगी नरहरीनाथ अध्ययन केन्द्र,समाधि स्थल, हरित पार्क, गौशाला, पानीका लागि डिपबोरिङलगायत पूर्वाधारहरु निर्माण हुने भएका छन् ।
प्राचीन एवम् पुरातात्विक महत्व बोकेको गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठमा आवश्यक पूर्वाधार निर्माणसँगै प्रचारप्रसार गर्न सके पर्यटकीय केन्द्रका रुपमा विकास गर्न सकिने संस्कृतविद् डा. गोविन्द आचार्यले बताए । पछिल्लो समय चौघेरा मन्दिरमा पुरातत्व विभागले पनि मन्दिर लगायत संरचना निर्माण गरिरहेको छ भने व्यवस्थापकीय पक्ष पनि बलियो हुँदैै गएको छ ।