© २०२३
काठमाडौँ ।
कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपालमा भव्य स्वागत गरिएको छ । उनलाई मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका हुन् ।
उनलाई सेनाको सलामीसहित सम्मान गरिएको थियो । बङ्गलादेशको भ्रमण सकेर अमिर काठमाडौँ आएका हुन् । अमिरले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटघाट गरी अमिर शेख सोल्टी होटेल पुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । बुधवार १०ः३० बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्वारिका होटेलमा भेटघाटको कार्यक्रम तय भएको छ । त्यहाँ दुई पक्षीय वार्ता हुनुको साथै केही सम्झौता पत्रमा हस्ताक्षर हुने पनि बताइएको छ । अमिर शेख बुधबार साढे दुई बजे स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।