© २०२३
बुटवल, १० बैशाख ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र सरकारमा बस्नेहरुको गलत व्यवहारका कारण देश संकटको अवस्थामा पुगेको बताएका छन् । सहकारी ठग, ठूलाठूला भ्रष्टाचारमा संलग्न र दोहोरो नागरिकता भएकाहरुबाट देश कंगाल भैसकेको उनले बताए ।
नेकपाको ७६ औं स्थापना दिवसको अवसरका नेकपा मसाल रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तत्र्रिmयामा बोल्दै केसीले भने – “सहकारी ठगी, भ्रष्टाचारीहरु र दोहोरो नागरिकता भएकाहरुको सहभागितामा बनेको सरकारले देशलाई निकास दिन सक्दैन ।”
सत्तामा गएकाहरु साम्राज्यवादीको एजेण्डा बोकेर देशलाई लुटेको अरोप लगाउँदै संसदमा साम्राज्यवादी पसेको बताए । उनले भारतीय र अमेरिकन साम्राज्यवादले नेपालको भलो नचाहेको बताउंँदै अमेरिकाले संसदमा पार्टी खोलिसकेको दावी गरे । लेनिनवादी सिद्धान्त छोडेकाहरु कम्युनिष्ट हुन नसक्ने बताउंदै कम्युनिष्ट सिद्धान्त छोडेर कम्युनिष्टको नाममा भ्रम छर्नेहरुसंग सचेत हुनुपर्ने बताउंदै कम्युनिष्टको आधारभूत सिद्धान्त नै छोडेकाहरुसंग एकता हुन नसक्ने केसीले बताए ।
आधारभूत रुपमा कम्युनिष्टको सिद्धान्त र आचरणमा रहेकाहरुसंग एकताका लागि सधै एकताको ढोका खुल्ला रहेको अध्यक्ष केसीको भनाई छ । उनले कम्युनिष्ट आन्दोलन अवसरवादको दलदलमा पतन भएको उल्लेख गर्दै देशमा कम्युनिष्ट जनमत धेरै भएपनि क्रान्तिकारी धार नभएकाहरुको भीड रहेको बताए । राष्ट्रिय जनमोर्चाका सल्लाहाकार बद्रे आलमले नेकपा स्थापनाको उद्देश्य पूरा नभएको बताउंदै कम्युनिष्टको नाममा गैरकम्युनिष्ट गतिविधि गर्नेहरुबाट कम्युनिष्ट आन्दोलन कमजोर बनेको बताए ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य प्रेम सुवेदीले विचार र कार्यदिशाको समस्याले कम्युनिष्टमा विभाजन आएको बताउंदै भने – “कम्युनिष्टहरुमा आएको विभाजन विडम्वना हो ।” कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य शरद ओली, नेकपा माओवादी केन्द्र रुपन्देही अध्यक्ष निर्मल जिसी, वामपन्थी नेता दुर्गानाथ खरेल, तेजप्रसाद कंडेल, लिलाबहादुर केसी, ऋषिराम भुसाल, माक्र्सवादी विचार मञ्चका सचिव विनबहादुर कुंवर, अन्टुकका अध्यक्ष लोकराज भुसाल, राष्ट्रिय सभा सांसद तुलप्रसाद विकलगायतले बोल्दै देशमा कम्युनिष्टहरुको जनाधार बलियो भएपनि कम्युनिष्ट आन्दोलन कमजोर हुंदा साम्राज्यवादी शक्ति हावी भएको बताए ।
छरिएर रहेका कम्युनिष्टबिच एकता आवश्यक रहेको बताउंदै आधारभूत रुपमा कम्युनिष्ट सिद्धान्त अंगालेका पार्टीबिच एकता गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गनुपर्नेमा उनीहरुको भनाई छ । कार्यक्रममा नेकपा मसाल रुपन्देही प्रवक्ता लालचन पन्थ, वामपन्थी नेता चेतनाथ आचार्यलगायतले पनि बोलेका थिए ।