© २०२३
भैरहवा, १० वैशाख ।
सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीले अवैध रुपमा भण्डारण गरी राखेको प्याज सहित ५० लाख ३० हजार बराबरको अवैध सामान बरामद गरी भैरहवा भन्सार कार्यालयमा पठाएको छ ।
रुपन्देहीको सिद्धार्थनगर ४ दोगहरा इलाकामा भारतबाट अवैधरुपमा नेपालतर्फ ल्याई बाँसको छाप्रोमा भण्डारण गरी ग १ ख ९२२६ नं. को २.५ टाटा आइसर गाडीमा १० गते आइतबार राति १०ः ३० बजेको समयमा लोड गर्दै गरेको अवस्थामा फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन न्यौपानेले जानकारी दिए ।
२७ गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरको नेतृत्वमा खटिएको ११ जना सीमा अनुगमन टोलीले सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा पक्राउ गर्न सफल भएको थियो ।
१० हजार ४ सय केजी प्याज जम्मा ५ लाख २० हजारको, गाडीको मूल्य ४५ लाख बराबरको, बोरा सिलाउने मेसिन १० हजार गरी ५० लाख ३० हजार बराबरको सामान बरामद गरी भन्सार पठाइएको सशस्त्र प्रहरी उपरीक्षक (डिएसपी) मोहन न्यौपानेले जानकारी दिए ।