© २०२३
काठमाडौं।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमका बीच सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवशकुमारबीच भर्चुअल क्रेडिट कार्ड सञ्चालन सम्बन्धी सम्झौता भएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले उक्त भर्चुअल क्रेडिट कार्डको उद्घाटन समेत गरेका छन् ।
भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत योग्य ग्राहकहरूले सिधै आवेदन दिन सक्नेछन । कुनै कागजी कार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकहरूले रु २० हजार देखि रु २ लाख ५० हजारसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन । भर्चुअल क्रेडिट कार्ड क्यूआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपालभित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिनेछ । यसमा ईएमआईको सुबिधा पनि रहेको छ । बैंकले ग्राहकहरुलाई ४५ दिनको समयावधिभित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ ।
साथै, ग्राहकहरुको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशतदेखि शतप्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो । यसलाई ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशनमार्फत नै यो प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्नेछन् । यो कार्डले भुक्तानी कार्ड उद्योग र ग्राहकहरुलाई पुनः परिभाषित गर्ने अपेक्षा बैंकले गरेको छ ।
सिटिजन्स बैंकले देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।