© २०२३
नवलपुर ५ वैशाख ।
गर्मी बढेसँगै पुर्वी नवलपरासीको निकुन्ज आसपासका ठाउँमा किसानले लगाएका मकैबालीमा जँगली बँदेल पसेर खान थालेपछि स्थानीय चिन्तित भएका छन् ।
केही दिनदेखि चितवन राष्ट्रिय निकुन्जबाट निस्केका जँगली बँदेलले देवचुली र मध्यबिन्दुु नगरपालिकाका धेरै क्षेत्रमा किसानले लगाएको मकै बालीमा पसेर बाली खानेदेखि सबै भाँचिदिने गरेकाले यो पटकको बाली नै भित्र्याउन नपाईने चिन्ताले किसानलाई पिरोलेको छ ।
विशेष गरी बँदेल गर्मी याममा निकुन्जको जँगलबाट बाहिर निस्कने गरेका र किसानले मकै बालीको समय भएकाले जँगली बँदेल यतिबेला गाउँ समेत पस्ने गरेको र यो समयमा बाली र मानिसको ज्यान समेत खतरामा पर्ने भएकाले सतर्कता अपनाउनु पर्ने पिठौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बद्री पौडेलले बताए ।
अहिले बँदेल निकुन्ज आसपासका बस्तीहरुमा पस्न थालेको छ । यतिबेला बँदेलले किसानले लगाएको मकैबाली भाँचिदिने, कुचिदिने गर्दा मकै यसपटक पनि स्याहार्न नपाईने अवस्था आएको सँरक्षणकर्मी तिलक थापाले बताए ।
जँगली बँदेल निक्कै ठुलो हुने भएकाले त्यसले आक्रमण समेत गर्न सक्ने भएकाले सतर्कता अपनाउनु पर्ने र अहिले बिशेष गरेर मकै खेतीमा जंगली बँदेलले नराम्ररी क्षति पुर्याएको मध्यबिन्दु २ का स्थानीयले बताएका छन् । जँगली बँदेलले मध्यबिन्दु २, ३, ४ मा किसानले लगाएको २५ बिगाहा क्षेत्रफलामा नष्ट पारेको थापाले बताए ।
बँदेललाई लखेट्न किसानले तारजाली लगाए पनि त्यो प्रभावकारी बन्न नसकेको मध्यबिन्दुका रामप्रसाद महत्तोले बताए । चितवन राष्ट्रिय निकुन्ज पश्चिम सेक्टर अमलटारीले निकुन्ज आसपासका स्थानीयलाई सचेतना अपनाउन आग्रह गरेको छ ।