© २०२३
सुर्खेत, २९ चैत ।
कर्णालीमा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि अभियान सञ्चालन भएको छ । मानवअधिकार आयोग कर्णाली प्रदेशले फ्रिडम फोरम नेपालको सहकार्यमा उक्त अभियान सञ्चालन गरेको हो ।
संविधानको मौलिक हकमा व्यववस्था भएको अधिकार संरक्षणका लागि प्रदेशस्तरीय कार्य समूह गठन समेत गरिएको छ । मानवअधिकार आयोग कर्णाली प्रदेशका प्रमुख लोकनाथ बास्तोलाले अभिव्यक्ति स्वतन्त्रताको संरक्षणको लागि प्रदेशस्तरीय समिति गठन गरिएको बताए । ‘अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि सुरक्षा संयन्त्र गठन तथा कार्यविधि सम्बन्धी निर्देशिका जारी भएको अवस्था छ’ वास्तोलाले भने, ‘उक्त निर्देशिकामा व्यवस्था भए बमोजिम कार्यसमूह निर्माणसँगै अन्य कार्यक्रमहरु सञ्चालन गर्ने छौ ।’
बस्तोलाका अनुसार पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रताको रक्षाका निम्ति आवाज उठाउने संघ संस्था र व्यक्तिहरुमाथि नै धम्की आउने भएकाले उनीहरुको रक्षाको निम्ति समितिले काम गर्ने छ ।
यसैबिच आयोगका प्रमुख बास्तोलाको संयोजकत्वमा सात सदस्यीय कार्यसमूह गठन गरिएको छ । उक्त समितिमा मुख्यमन्त्री कार्यालय, मुख्य न्यायाधिवक्ता कार्यालय, प्रदेश प्रहरी कार्यालय, उच्च अदालत वार एशोसिएशन, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र गैसस महासंघका प्रतिनिधिहरु सदस्यको रुपमा रहेका छन् ।
उक्त नवगठित समितिको पहिलो बैठक समेत सम्पन्न गरिएको छ । बैठकमा मुख्यमन्त्री कार्यालयका अधिकृत देवीलाल सापकोटाले समितिलाई मजबुत बनाएर अघि बढ्नुपर्ने बताए । प्रदेश प्रहरी कार्यालयका डिएसपी राजन गौतमले अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरु भएको पाइएमा त्यसको रक्षाको निम्ति प्रहरी तयार रहेको बताए । उच्च अदालत वार एशोसिएशनका अध्यक्ष दुर्गा सापकोटाले अन्य प्रदेशको तुलनामा कर्णालीमा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरु धेरै घट्ने भन्दै सरोकारवाला व्यक्तिहरु यसतर्फ लाग्नुपर्ने औल्याए ।
मानवअधिकार आयोग कर्णाली प्रदेशका अघिकृत मानबहादुर कार्कीले अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरु भएको पाइएमा समितिले तत्कालै उद्धारको साथै संरक्षण गर्ने काम समेत गरिने जनाए ।