© २०२३
सल्यान, २७ चैत ।
सल्यानका स्थानीय तह तथा जिल्लास्थित संघीय र प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुले दोश्रो चौमासिकको प्रगति समिक्षा गरेका छन् । जिल्ला समन्वय समितिको आयोजनामा आर्थिक वर्ष २०८०।०८१ को दोश्रो चौमासिक प्रगति समिक्षा मंगलबार खलंगामा सम्पन्न भएको हो ।
निर्माण कम्पनीको ढिला सुस्तीका कारण विभिन्न भौतिक पूर्वाधार निर्माणका कामले गति लिन नसकेको तथा श्रोतसाधनको अभावका कारण अपेक्षीत नजिता प्राप्तीमा कठिनाई भएको कुरा समिक्षामा कार्यालय प्रमुखहरुले उल्लेख गरेका थिए । कार्यक्रममा चालू आर्थिक वर्षको दोश्रो चौमासिक अवधिसम्म आइपुग्दा हासिल भएका वित्तिय तथा भौतिक प्रगती प्रस्तुत गर्नुका साथै सुझावहरु समेत संकलन गरिएको जिल्ला समन्वय समिति सल्यानले जनाएको छ । कार्यक्रममा तीनै तहका सरकारका विचमा समन्वय हुनुपर्नेमा समेत जोड दिइएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलले विकास निर्माण देखि सेवा प्रवाहलाई प्रभावकारी रुपमा सञ्चालनका लागि नियमित रुपमा प्रगति समिक्षा आवश्यक रहेको भन्दै अन्य स्थानीय तह वा अन्य कार्यालयका राम्रा पक्षलाई अनुसरण गर्नुपर्नेमा जोड दिए ।
यस्तै प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले समिक्षामा देखिएका कमजोरीहरुलाई आगामी वर्ष सच्याउदै सबै निकायहरु समृद्धि जिल्ला निर्माणमा लाग्नुपर्ने धारणा व्यक्त गरे ।