© २०२३
सुर्खेत, २२ चैत ।
एमाले नेता यामलाल कँडेल ६ वर्षको पर्खाइपछि कर्णालीको मुख्यमन्त्री बन्न पाउने भएका छन् । मुख्यमन्त्री बन्ने चाहनाले २०७४ को चुनावमा प्रदेश रोजेका कँडेल पटक पटक प्रयास गर्दा पनि सफल हुन सकेनन् । लगातार साढे ६ वर्ष कर्णालीको मुख्यमन्त्री बन्न प्रयास गरेका नेता कँडेल अन्ततः कर्णाली प्रदेशको चौथौं मुख्यमन्त्री हुने भएका छन् ।
प्रदेश सभाको पहिलो कार्यकालमा मुख्यमन्त्री हुने उनको अथक प्रयास नेकपा एमालेमा आएको विभाजनका कारण सम्भव भएको थिएन । पहिलो कार्यकालमा एमालेको स्पष्ट बहुमत सहित २० सिट थियो । उतिबेला मुख्यमन्त्री माओवादीको भागमा परेको थियो । माओवादीबाट नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीको पालामा कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव हालिएको थियो । तर, आफ्नै पार्टी भित्रका चारजना सांसदले फ्लोर क्रस गर्दा उनी मुख्यमन्त्री बन्न पाएनन् । उतिबेला माओवादीलाई काँग्रेसले पनि साथ दियो जसका कारण माओवादी नेता शाहीको मुख्यमन्त्री पद जोगियो ।
२०७९ को निर्वाचन लगत्तै फेरि उनले मुख्यमन्त्री हुने कोसिस गरे । तर दुई महिना नपुग्दै एमाले–माओवादी गठबन्धन भत्कियो । एमाले–माओवादीले कर्णालीबारे गरेको सहमतिले उनलाई रोकेको थियो । त्यसबेला एमालेले सभामुख लिएर पाँचवर्ष नै माओवादी केन्द्रलाई मुख्यमन्त्री दिएको थियो । केन्द्रमा माओवादीले पाँच वर्षसम्म नै मुख्यमन्त्री लिने सहमति भएता पनि प्रदेशमा भने आधाआधा कार्यकाल बाँडफाड गर्ने सहमति बनेको थियो ।
२०७४ र २०७९ मा दुई पटक प्रदेशको चुनावजितेका उनी अब भने कर्णालीको मुख्यमन्त्री बन्नेछन् । पार्टीभित्र होस् या बाहिर खरो र तार्किक बहस गर्ने कँडेल पार्टीबाटै विभिन्न समयमा धोका पाएका थिए । एमाले र माओवादीले गरेको भागबण्डा अनुसार अब कर्णाली सरकारको नेतृत्व एमालेले गर्नेछ । मुख्यमन्त्रीका लागि कँडेलले दावी प्रस्तुत गर्ने तयारी भइरहेको एमालेका प्रमुख सचेतक टेकराज पछाईले बताए ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्दछ । गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन् । प्रदेश सभामा कांग्रेसका १५ र राप्रपाका एक सांसद छन् ।