© २०२३
सुनवल, १६ चैत ।
पश्चिम नवलपरासीको सुनवलमा यही चैत १९ गते सोमबार देखि मुख्यमन्त्री अन्तरप्रदेश राष्ट्रिय पुरुष कवड्डी प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समिति नवलपरासीको आयोजनामा हुने प्रतियोगितामा प्रदेशबाट छनौट भएका सातै प्रदेशका एक एक टोली सहभागी हुने छन् । प्रतियोगितामा छनौट भएको टोली बंगलादेशमा आयोजना हुने वंगबन्धु कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिनका लागि छनौट हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामु मगरले जानकारी दिए । तीन दिन सम्म संञ्चालन हुने प्रतियोगिताको विजेता समूहले एक लाख पचास हजार रुपैयाँ नगद सहित मेडल हात पार्ने छ भने उपविजेता समुहले एक लाख रुपैयाँ पाउने छ । सेमिफाईनलमा पुग्ने समुहलाई पनि ५०÷५० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यले जानकारी दिए ।
प्रतियोगिताबारे जानकारी दिन शुक्रबार सुनवलमा आयोजित पत्रकार सम्मेलनमा कवड्डीका केन्द्रीय प्रमुख प्रशिक्षक विष्णुदत्त भट्टले नवलपरासी कवड्डीको उर्वर भूमि भएको बताउँदै यही स्थानमा प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको बताए ।
कवड्डी संघका लुम्बिनी प्रदेश अध्यक्ष जनार्दन केसीले स्थानीय स्तरमा संघर्षका साथ उत्पादित खेलाडीले देशको नाम राख्न सफल भएको उल्लेख गरे । अहिले अन्तर्राष्ट्रिय प्रतियोगितामा कवड्डीले मेडल प्राप्त गर्न सफल भएको उल्लेख गर्दै उनले सरकारले कवड्डी खेललाई प्राथमिकता दिएर प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्माले नवलपरासीमा कवड्डीको राष्ट्रिय प्रतियोगिता आयोजना हुनु जिल्लाकै लागि गौरवको विषय भएको उल्लेख गरे ।
प्रदेश खेलकुद परिषद लुम्बिनीको मुख्य प्रवद्र्धन, लुम्बिनी प्रदेश कवड्डी संघको समन्वय र कवड्डी संघ नवलपरासीको सहआयोजनामा हुन लागेको प्रतियोगिताका लागि ३१ लाख ६० हजार खर्च अनुमान गरिएको छ । सुनवलस्थित चिनि मिलको सि गेट अगाडि म्याटमा बिहान र साँझ पख गरी दुई सिफ्टमा खेल सञ्चालन हुने छ ।