© २०२३
नेपालगञ्ज, १० चैत ।
रङहरुको पर्व होलीको अवसरमा नेपालगञ्जका कसौधन महिला उद्यमीहरुले घरमा आफैले उत्पादन गरेका सामाग्री प्रदर्शन गरेका छन् । चुल्हो चौकोको काम सकेर घरभित्रै बसेर उत्पादन गरेका हस्तकालाका सामग्री र विभिन्न खानाका परिकार शनिबार प्रदर्शन गरेका हुन् ।
कसौधन महिला समाज मुल मञ्च एवं युवा मञ्च परिवार नेपालगञ्ज बाँकेले फ्यान एण्ड फुड फेयर नामले आयोजना गरेको कार्यक्रममा विभिन्न २२ वटा स्टलमा राखेर मिठाई, नमकिन, गोजिया, पानीपुरी र होली विशेष परिकारका साथै हस्तकला सामग्री प्रदर्शन गरिएको थियो । मधेशी समुदायका महिलाहरुले उत्पादन गरेका खाद्यवस्तु र हस्तकला सामग्रीको बजारीकरण र प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक बर्ष होलीको अवसरमा कार्यक्रम गर्दै आएको कसौधन महिला समाज बाँकेकी अध्यक्ष सरिता बैश्यले बताईन् ।
उनले भनिन् –‘मधेशी महिलाहरु घरबाट बाहिर ननिस्किए पनि थरीथरीका परिकार र विभिन्न हस्तकलाका सामग्री बनाउन जानेका हुन्छन्, त्यही सामग्री प्रबद्र्धनका लागि यो कार्यक्रम गर्दै आएका छौं ।’ ज्योत्सना गुप्ता र आरती बैश्यको संयोजकत्वमा आयोजना गरिएको प्रदर्शनीमा नेपालगञ्ज र आसपासका पालिकाहरुबाट अवलोकन गर्न आउनेहरुको घुईंचो लागेको थियो । विहान ११ बजेदेखि बेलुका ६ बजे सम्म सञ्चालन गरिएको प्रदर्शनीमा करिब ५ सय जनाले अवलोकन गरेको र तीनलाख बढीको कारोबार भएको अध्यक्ष बैश्यको दावी छ ।