© २०२३
प्रेम, गरिवी, अशिक्षा र अज्ञानताका कारण महिलामाथि हिंसाजन्य ज्यादतीका घटना पछिल्लोसमय बढ्दै गएको छ । काठमाण्डौंमा सुष्मा तामाङको हत्या प्रेम स्वीकार नगर्दा भएको छ । प्रेम अस्वीकार गर्दा युवती तथा महिलाहरूमाथि जघन्य र बर्बर हत्यासम्मको अपराध बढ्दै गएको छ । यसले नेपाली समाज विस्तारै अपराधजन्य मनोबृत्तितर्फ बढ्दै गएको पछिल्ला केही घटनाले स्पष्ट गरिसकेको छ । सिरहामा प्रेम अस्वीकार गरेकै कारण नसकै हत्या भयो । धरानमा पनि उही अवस्था दोहोरियो । प्रेम असफलताको नाममा युवतीहरूमाथि संदिग्ध तरिकाले हिंसा बढेको छ । यी केही उदाहरणमात्र हुन । विगतमा एसिड आक्रमणका घटनामा पनि युवती तथा महिलाहरू निसानामा परेकै हुन । पुरुषले प्रस्ताव गरेपछि चाहना नहुँदापनि जबरजस्ती प्रेम स्वीकार नगरे आईपर्ने कुनैपनि परिस्थितिको सामना गर्न युवतीहरू बाध्य हुनुपर्ने अवस्था सिर्जना भएको छ । यसले गंभीर चिन्ता थपिदिएको छ । नेपालका जुनकुनै क्षेत्रमा पनि यस प्रकारका घटना दोहोरिईरहेका छन । जसका कारण युवतीहरू हिंसाको शिकार हुन बाध्य भैरहेका छन । यो गंभीर बिषयमा अव सोच्नुपर्ने स्थिति आएको छ । होइन भने यस प्रकारका जघन्य र बर्बर घटनाको निसानामा थप चेलीहरू पर्नुपर्ने बिबसता आउनसक्छ । प्रेम प्रस्ताव अस्वीकार गरेकै नाममा मौका छोपेर ढुकेर हत्या गर्ने जुन अपराधजन्य घटना बढिरहेको छ, यसले नेपाली चेलीहरूको सुरक्षामा चुनौति थपेको छ । धरानमा राती शौच गर्न बाहिर निस्किएको बेला एक युवतीको हत्या भयो । अनुसन्धानमा युवतीले प्रेम अस्वीकार गरेकै कारण उनको हत्या भएको उनका प्रेमीले स्वीकार गरे । आखिर मानिसमा किन यतिधेरै राक्षसी प्रवृत्ति बढिरहेको छ ? नेपाल सरकारले यो बिषयमा बहस, चिन्तन वा फरक प्रकारको अनुसन्धान नै गर्नुपर्ने अवस्था देखिएको छ । यो गंभीर प्रकृतिको अपराधको घटना यसरी नै बढिरहने हो भने नेपाली समाज बिद्रुपताको निशानामा पर्ने निश्चित छ ।
अर्कोतर्फ सामान्य विषयमा पनि ठूलो अपराधका श्रृंखला बढ्दै गएको छ । जग्गा विवादको कुरादेखि केटी जिस्काउने तथा घरायसी झगडामा हत्यासम्मका घटना भैरहेका छन् । बर्षौंसम्म मिलेर बसेर परिवार क्षणभरमै ध्वस्त भएको घटना बढ्दै गएका छन । क्षणिक आबेग र रिसमा पारिवारीक संरचना नै खण्डित भएको उदाहरण छन् । त्यसैगरी दाजुभाई वीचको सम्वन्धमा सामान्य विषयले पछिल्लोसमय अपराध जन्माउने गरेको छ । यो श्रृंखलामा बढी महिला नै प्रताडित र प्रभावित हुनुपरेको छ । अपराधका पछि गरिबी, अशिक्षा, अज्ञानता र अन्धविश्वास मूख्य कारण मान्ने गरिएको छ । महिलामाथि घरेलु हिंसाको चरम यातना त छँदैछ त्यसका साथै बलात्कार, अपहरण र हत्याको भार थामिनसक्नु छ । दाइजो नल्याएको निहुँमा जिउँदै जलाउने, छोरी जन्माएको निहुँमा, आफ्नो श्रीमानद्वारा बहु–विवाह गरी यातना दिनेलगायत बोक्सीको नाउँमा महिलालाई थप प्रताडित गर्ने कामले समाज असुरक्षितमात्र होइन बिश्रृंखलित पनि वन्दै गएको छ । दाइजो नल्याएको निहुँलाई आधार बनाएर महिलालाई जिउँदै/जलाउने मार्ने जस्ता घटनाहरू त सामान्य भइसकेका छन् । महिला अधिकारको नारा चर्को स्वरमा उठिरहँदा पनि महिलामाथि हुने हिंसा रोक्ने पहल हुन नसक्नु चिन्ताजनक बिषय हो । यो विषयमा गंभीर ढंगले चिन्तन गर्नु जरुरी छ । अपराधजन्य घटना कुनैपनि अवस्थामा स्वीकार हुन सक्दैन । यसमा संलग्नमाथि कडा कानुन बनाएरै भएपनि नियन्त्रण जरुरी छ ।