© २०२३
केही दिन अघिमात्र नयाँ सरकारको गठन भएको छ । सरकारका प्रमुख पुष्पकमल दाहाल प्रचण्ड नै यथावत् सरकार प्रमुख भएतापनि सरकारमा सहभागी केही दलहरूको भने फेरबदल भएको छ । लोकतन्त्र आएपछि र नयाँ संविधान बनेपछि त देशमा कायापलट हुने आशामा बसेका जनताहरूमा पुनः निराशापन आएको छ । तर, सरकारमा आएका दलका केही चैते कार्यकर्ताहरूमा भने सरकार गठनपछि आफ्ना दलमार्फत् हुने भागबन्डा मार्फत् विभिन्न लाभयुक्त पदमा नियुक्ति पाउन सकिने कुराले खुसीपन आएको छ भने सरकारबाट बाहिरिएका दलका केही कार्तिके कार्यकर्ताहरूमा भने मुखैमा आएका नियुक्तिहरू खान नपाइने भएकोले दुःखीपनले नैराश्यता आएको छ । सत्तापक्ष वा विपक्षमा भएका दलकै केही सज्जन कार्यकर्ताहरूलाई भने देशको यस किसिमको उतारचढावले गर्दा चिन्तित तुल्याएको छ । के गर्ने हामी नेपालीहरूको साह्रै नै विग्रेको दशाले गर्दा होला राजा महेन्द्रपछिका जुनसुकै तन्त्रमापनि देशले उल्लेख्य रूपमा विकासको गति लिन सकिरहेको छैन । देशका केही भागमा विकास देखिएतापनि भ्रष्टाचारले गर्दा कामभन्दा बढी कार्यकर्तालाई माम र दाम भएको छ । नारायणगढ–बुटवल, मुग्लिङ्ग–काठमाडौँ, काठमाडौँ चक्रपथ आदि सडकको यस किसिमको दुर्दशा देख्दा पनि हामी निरिह भएर हिस्स बुढी खिस्स दाँत जस्तो भएर बाँच्नुपरेको छ । अरू देशमा विकासका लागि न राजतन्त्र बाधक भयो, न त गणतन्त्र नै । तर के गर्ने हाम्रो देशमा जुनसुकै तन्त्र आएपनि देश जस्ताको तस्तै । कसैले केही गर्छु भनेर आयो भने पनि त्यसलाई के के हो के केका ट्याग लगाएर लखेटेको लखेटै गर्ने अनि चुनावमा हातलाई यताउता सार्न नजान्ने हामी केही जनताको बानीले गर्दा पनि देशमा अप्ठ्यारो परिरहेको अवस्था हो ।
२०४७ सालपछि देशमा केही नयाँपन आउँदै थियो । राजा जनता सबै मिलेर देशमा यहाँको धर्म, संस्कार र संस्कृति अनुरूप विकास गर्ने अभिभारा पनि आएको थियो । तर के गर्ने स्वदेशी नेता र राजाले बनाएको संविधानभित्र धर्म निरपेक्षता भन्ने चिज अट्न सकेन भन्दै एकथरीलाई उनीहरूका मालिकले जङ्गलतिर पठाए भने सरकारमा रहेकै पार्टीका केही नेतागणलाई पार्टीभित्र नै विद्रोह गर्न लगाए । त्यस्तै विपक्षी दलमा पनि मदन भण्डारीको दुर्घटना पछि आफ्ना नोकरहरूलाई नै पार्टीका प्रमुख एवम् सदस्य पदमा घुसाए । ती मालिकहरू पाश्चात्य देशसँग सम्बन्धित भएपनि दक्षिणतिरको मित्रराष्ट्रमा कब्जा जमाएर बसेकाले उनीहरूलाई यहाँ उथलपुथल पार्न केही समस्या परेन । उनीहरूले आफ्ना नोकरहरूलाई विभिन्न मागहरू प्रस्तुत गर्न भने पनि उनीहरूको प्रमुख माग नै धर्म निरपेक्षता थियो । यसकालागि बाधक राज संस्था हुने भएकाले राजदरबार घटना घटाई नेपाली जनतालाई राजसंस्थाप्रति नै वितृष्णा पैदा गराए । यसका लागि उनीहरूले नेपाली नेताको मात्र नभएर राजसंस्थाभित्रका पनि केही आधिकारिक व्यक्तिहरूको पनि सहयोग लिए । काम फत्ते गरेपछि उनीहरूलाई पनि भुइँमा नै पु¥याए । छिमेकी देश भारतलाई धर्मनिरपेक्षतामार्फत् नै फुटाएर राज गरिरहेका उनीहरूले नेपालमापनि त्यसैका लागि यस किसिमको काम गरेका हुन् ।
मानिस भइसकेपछि गल्ती सबैका हुन्छन् । त्यसैले गल्ती नै नभएको मानिसका रूपमा यहाँ गिरिजाप्रसाद कोइरालालाई प्रस्तुत गर्न खोजिएको हैन । आफू पदमा नरहेर पनि कृष्णप्रसाद भट्टराईलाई साथ दिएर उनले देशलाई विकासको गतिमा लैजान सक्दथे । के गर्ने उनीपनि पदप्रतिको लोभले गर्दा गणेशमान जस्तै धर्मात्मा बन्न सकेनन् । तर, राजा ल्याएर खाजा खाने दाउमा रहेका केही मानिसहरूले उनलाई गाली गरेपनि उनी २०४७ सालको संविधानमा शेर गणतन्त्र ल्याउने पक्षमा थिएनन् । सेना परिचालन गरेर माओवादीलाई भुट्छु भन्दा राजा विरेन्द्रको उनकै भाइहरूले बुद्धिनाश गराइदिई काम गर्न नदिने, सशस्त्र प्रहरीको गठन गराएर जङ्गलमा गएर दुःख दिइरहेकाहरूलाई ठेगान लगाउँछु भन्दा अमेरिकी शेरले पार्टी नै फुटाई दिने । लोकतन्त्र नामको नयाँ व्यवस्था ल्याइसकेपछि पनि राजाको अवशेषका रूपमा बेबीकिङ् राखौँ भन्दा तात्कालिक राजाले नमान्ने आदि इत्यादि कुराले नेपालमा यहाँको धर्म, संस्कार र संस्कृति मासेर अल्पसंख्यकका नाममा राज गर्नेहरूका सामु उनले घुँडा टेक्नपुगे । त्यतिखेरको बाध्यताबशको घुँडा टेकाईले गर्दा देश दिप्रतिदिन दलदलमा गएको गई छ । धर्मनिरपेक्षताका नाममा देश क्रिश्चियनमय भएर धार्मिक द्वन्द्वले विकराल रूप ल्याउने अवस्था आउँदा पनि चित्र विचित्रहरूको कुम्भनिद्रा खुलेको छैन ।
विं.सं. २०७९ सालको चुनावमा कांग्रेसले कतै फेरि धर्मनिरपेक्षता छोड्ला कि भनेर देशको प्रमुख पार्टी टुटफुट भएको अवस्थामा पनि हार्ने डर देखाई माओवादीको माला लगाइयो । जतिसुकै प्रतिगमनका मालाले सजाई दिएपनि एमालेले अपेक्षा गरिएभन्दा धेरै सिट ल्यायो । धर्म निरपेक्षताका इमान्दार समाजवादी आदि पार्टीहरूलाई कांग्रेसको वैशाखी लगाएर अड्याइयो । एमाले र माओवादीको बनिसकेको सरकारमा फेरि हस्तक्षेप गराएर कांग्रेस फकाउन जिन्दगीभर पदै पदको मोटो मालाबाट सुसज्जित रामचन्द्र बालाई राष्ट्रपतिको कुण्डमा हालियो । हिन्दू भनेको कुनै धर्म नभई यो त एउटा जीवन जिउने जीवनपद्धति हो जसले संसारका सबै मानिसको भलो चिताउँछ भन्ने जानेर पनि धर्म निरपेक्षताका पक्षमा मालिकले जे भन्छन् त्यही बक्दै हिँडी अलपत्र हुन लागेका बालाई १७ वर्षपछि सत्र नै प¥यो । जुन योजना अनुरूप शेरबालाई प्रशिक्षित गरिएको थियो त्यही अनुरूप शेरबाले कामगर्दासम्म अँगालोमा च्यापिएको नै थियो, सभापतिमा जिताइएकै थियो तर उनका कार्यकर्ता जागेर सिङ्गो पार्टी नै हिन्दूत्वका विषयमा बहस चलाउन थाल्यो, अनि उनको पनि सत्ताच्युत हुने अवस्था आयो । नेपाली काङ्ग्रेसमा हिन्दूत्वको कुरा गर्नेहरूका नजिक भएर कोशीमा सरकार परिवर्तन गरेका केपी बाले उताफेरि हिन्दु धर्मशास्त्रका गफ हाँक्दै हिँडेको देखेका मालिकहरूले उनले कतै संसदलाई चिप्लाए जस्तै गरेर धर्म निरपेक्षतापनि चिप्लाए भने त फेरि अवस्था गम्भीर हुन सक्छ भन्ने समेत अनुमानले सरकार परिवर्तनको कार्य गरेका हुन् भन्नेपनि छन् । धर्म निरपेक्षताका खम्बा सिटौला, गगन र विश्वप्रकाशले विस्तारै कांङ्ग्रेसलाई लयमा ल्याए भने पुनः मालिकहरूले भाउजुलाई पनि सरकार प्रमुखको जिम्मा नदेलान् भन्नपनि सकिन्न ।
जेकालागि २०५२ देखि प्रचण्ड ल्याइएका थिए, उनले बकाइदा संसदमै कांग्रेसलाई छोड्नुको कारण नै पार्टीको हिन्दुत्व सम्बन्धी अवधारणा हो भने अनेकौँ चिल्ला कुरा गरेर देशभक्त हुन खोज्ने अमरेशकुमार सिंह एवम् मधेशवादी पार्टीहरूले पनि मालिकहरूको आज्ञा अनुरूप नै धर्मनिरपेक्ष आदि चारखम्बाको परिभाषा दिए । संघीयताको विरोध गरेर जनताको माया पाई केपीबाको कठालोमा झुण्डेर उपप्रधानमन्त्री खान सफल चित्रबाले पनि उनै केपीलाई गाली गरेरै भएपनि देशलाई तहसनहस पार्ने धर्म निरपेक्षतामाथि हँ मा हँ मिलाए । त्यसैले हामीजनता केही आश्चर्यमा पर्नु छैन । धर्म निरपेक्षता, संघीयता आदिमार्फत् देश तहसनहस पार्न आएकाहरूको षडयन्त्रमा देश चलाउनेहरू परिवर्तन भएपनि उनीहरू एकै ठाउँबाट परिचालित व्यक्तिहरू हुन् । वसुधैव कुटुम्बकम्, संगच्छध्वं संवदध्वं, आत्माखलु विश्वमूलम्, सत्यं शिवं सुन्दरम्, सह नाववतु, सह नौ भुनक्तु आदि हाम्रा कल्याणमयी सिद्धान्तद्वारा राष्ट्रमा, विश्वमा शान्ति ल्याउन सकिने सामान्य कुरा पनि नजान्ने खलनायकहरू हुन् ।