© 2026
नेपालगन्ज ।
दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि नेपाली सेनाका अक्कल बहादुर पाल र धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन् ।
वर्ल्ड रनिङको आधिकारिक संस्था एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणीकरण भएको रुटमा शनिवार राति भएको रोड रेसमा १० किमी खुला पुरुषतर्फ अक्कलले ३२ः१८ः०० मिनेटमा निर्धारित दुरी पुरा गर्दै प्रथम हुँदा भूपेन्द्र सुनार दोस्रो भए । उनले ३३ः०४ः७७ मिनेटमा दुरी पुरा गरे । यसमा बाँके नरैनापुरका अरविन्द यादवले ३३ः०८ः०९ मिनेटमा पुरा गर्दै तेस्रो भए ।
महिला १० किमीतर्फ धादिङकी सन्तोषी ३९ः०९ः०० मिनेटमा दुरी पुरा गर्दा बाँके कोहलपुरकी दीपशिखा शाही ४४ः५८ः१३ मिनेटमा पुरा गरी दोस्रो भइन् । यसमा बाँके नरैनारपुरकी गीता साहु ५२ः२६ः३० मिनेटका साथ तेस्रो भइन् । गीता पहिलो संस्करणकी विजेता हुन् ।
सङ्गीत र खेलकुदमार्फत सामाजिक एकता, स्वस्थ समाज र रात्रिकालीन बजारलाई प्रवर्द्धन गर्ने हेतुले आयोजित रोड रेसमा भेट्रान (४५वर्षमाथि) १०किमी तर्फको उपाधि बाँके खजुराका ५५ वर्षीय भरत श्रेष्ठले जिते । उनले ५१ः०३ः१७ मिनेटमा दुरी पुरा गरे ।
यसमा बर्दिया गुलरियाका ६९ वर्षीय पुष्कर विश्वकर्मा १ः००ः४४ समयका साथ दोस्रो र नेपालगन्जका ६९ वर्षीय मंगले तामाङ १ः०३ः५९ समयका साथ तेस्रो भए ।
स्कुल स्तरीय ५ किमी दौडमा छात्रतर्फ समीर बस्नेत, वसन्त माझी र नरेश कुँवर पहिलो दोस्रो र तेस्रो भए भने छात्रातर्फ स्वस्तिका शाही, अप्सरा बम ठकुरी र जनदेवी महतारा शीर्ष तीन स्थानमा आए ।
विजेता खेलाडीलाई लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तिरनदाज गौतम, पूर्व सदस्यसचिव भीम ओली, आयोजक क्रियटिभ गन्जका अध्यक्ष टीएस ठकुरी, पत्रकार महासङ्घ बाँकेका उपाध्यक्ष करुणा शाह लगायतले नगद तथा पदकबाट पुरस्कृत गरेका थिए ।
रात्रिकालीन बजारलाई प्रवर्द्धन गर्न आयोजना गरिएको म्युजिक नाइट रनमा राष्ट्रिय स्तरका गायक सुनिलसिंह ठकुरीले बेजोड साङ्गीतिक प्रस्तुति दिएका थिए । त्यस्तै सार्थ इन्टिग्रेटेड स्कुलका छात्रछात्राले नृत्य प्रस्तुत गरेका थिए ।
नेपालगन्ज १० नाइट रन एम्सको पूर्णकालीन सदस्य हो । नेपालमा एम्स आबद्ध दुई रेस हुने नेपालगन्ज एक मात्र सहर हो । नेपालगन्जमा पहिलो पटक स्कुल टु ओलम्पिक यसअघि नेपालगन्जमा पहिलो पटक ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम भव्य रूपमा आयोजना गरिएको थियो ।
नेपाल ओलम्पियन एसोसिएसन, रेस नेपाल र क्रियटिभ गन्जको संयुक्त आयोजनामा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा नेपालका सर्वाधिक सफल खेलाडी ओलम्पियन दीपक विष्ट, ओलम्पियन देबु थापा, ओलम्पियन सन्तोषी श्रेष्ठ, साग दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, साग स्वर्ण विजेता जुनु राई, पहिलो पुस्ताका ओलम्पियन सुरेन्द्र हमाल र पहिलो नेपाली महिला ओलम्पियन पार्वती थापाले विभिन्न स्कुलबाट सहभागी विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व उपकप्तान एवं सञ्चारकर्मी ममता थापाले सहजीकरण गरेको स्कुल टु ओलम्पिक कार्यक्रम निकै उत्प्रेरणामूलक र फलदायी रहेको थियो । स्कुल टु ओलम्पिक सफल पार्न योगदान गर्ने नेपालगन्ज उपमहानगरपालिका, होटेल डायमन्ड प्यालेसका प्रबन्ध निर्देशक जीवनसिंह ठकुरी, केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडलाई सम्मान गरिएको थियो ।
स्कुल टु ओलम्पिक कार्यक्रममा एन्जलस स्कुल, नेपालगन्ज मोडल एकेडेमी, कन्या मावि सल्यानीबाग सहभागी थिए । स्कुल टु ओलम्पिक हरेक वर्ष बाँकेका विभिन्न पालिकाहरूमा आयोजना गरिने रेस नेपालले जनाएको छ ।