© २०२३
प्रदेश सरकार स्थापना भएदेखि नै लुम्बिनी प्रदेश सरकारले पर्यटनलाई प्रदेशको पहिचान र प्रदेशको समृद्धिको आधार बनाउने नीति तथा कार्यक्रमहरू अघि सारिरहेको छ । नेपालमै सबैभन्दा धेरै मानिसहरू भ्रमण गर्ने गौतम बुद्धको जन्मस्थान लुम्बिनीलाई मात्र हेरेर प्रदेश सरकारले पर्यटन सपना देखेको हैन, यहाँका बुद्धभूमिहरू र अन्य पर्यटकीय सम्पदा र श्रोतहरूको आधारमा लुम्बिनी प्रदेशमा पर्यटनबाट समृद्धिका सपनाहरू देख्न थालिएको छ । विश्व शान्तिको मुहान लुम्बिनीको सेरोफेरोमा रहेका जिल्लाहरूमा रामग्राम, अनोमा घाट, ककरपत्ता, हलिदासन नगर, तिलौराकोट, कुदान, निग्लिहवा, गोटिहवा जस्ता बुद्धसंग सम्बन्धित २०० भन्दा बढी पुरातात्विक स्थलहरू रहेका छन् । बृहत्तर लुम्बिनी क्षेत्रमा समेटिएका यी क्षेत्रहरू बौद्ध पर्यटनका मुख्य क्षेत्रहरू हुन् र वर्षेनी लाखौ अन्तरिक र बाह्य पर्यटक यी स्थानमा पुगिरहेका छन् । राम्दी, रिडी, स्वर्गद्वारी, रेसुंगा, सुपादेउराली, पाणिनी तपोभूमि जस्ता हिन्दु तिर्थस्थलहरूका साथै अन्य मन्दिरहरू पनि हिन्दु भक्तजन र तिर्थयात्रीलाई आकर्षित गर्न सक्षम छन् । यहाँका तालतलैया र नदीनाला, दुईवटा राष्ट्रिय निकुन्ज र ढोरपाटन शिकार आरक्षका साथै लुम्बिनी प्रदेशको आधा भूभाग ओगटेको सम्पूर्ण वनक्षेत्रमा पर्यटनका प्रसस्त सम्भावनाहरू लुकेका छन् । लुम्बिनी प्रदेशमा हरेक जातजातिका आफ्नै मौलिक संस्कार, परम्परा र जीवनपद्धती रहेका छन् । यहाँका भैरहवा र नेपालगंज शहरले भारतका ठुला पर्यटन बजारसंग सिधा सम्पर्क गर्ने सामथ्र्य राख्छन् भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले लुम्बिनी प्रदेशलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्ने सामथ््र्य राख्दछ । यी सबै पर्यटकीय आधारहरूलाई पर्यटन बजारमा पस्केर पर्यटनबाट समृद्धि दिलाउने सपना सरकारले बाँडिरहेको छ र पर्यटन व्यवसायीले त्यहि सपनालाई सार्थक बनाउन लगानी गरिरहेका छन् ।
लुम्बिनीमा घुमफिर गर्न आउने पर्यटकको संख्या १५ लाख भन्दा उकालो लागिसकेको छ । प्रदेशका सबै धार्मिक, साँस्कृतिक र पर्यावरणीय महत्वका स्थानहरूमा घुमफिर गर्ने मानिसहरूको संख्या बढिरहेको छ । सबै जिल्लाहरू र सबै पर्यटकीय गन्तब्यहरूलाई जोड्ने यातायात संजाल तयार भैसकेको छ । यातायात, होटेल र अन्य पर्यटन सेवा उद्यममा निजि क्षेत्रले ठुलो लगानी गरिसकेको छ । स्थानीय सरकारहरू पनि पर्यटन विकासका लागि जुर्मुराईरहेका छन् । यति हुँदाहुँदै पनि लुम्बिनी, रानीमहल, स्वर्गद्वारी, सुपादेउराली, बागेश्वरी र बर्दिया तथा केही स्थानीय पार्क र पिकनिक स्थलमा बाहेक अरू अन्यत्र नियमित र ठूलो संख्यामा पर्यटक पुग्दैनन् र पुगेका पर्यटक पनि टिकिरहेका छैनन् । पर्यटन विकास र पर्यटनबाट समृद्धिको सपना देख्नेहरूका लागि यो चिन्ताको कुरा हो ।
लुम्बिनी प्रदेशमा सिमित स्थानमा मात्र पर्यटक जाने र अन्य पर्यटकीय स्थानले फाईदा लिन नसकेकोले पर्यटक पुग्न सक्ने र लाभ लिन सकिने क्षेत्रहरूलाई आपसमा जोड्न सकेमा पर्यटकहरूलाई सबै ठाउँमा पु¥याउन सकिने भएकोले प्रदेशमा टुरिजम सर्किटको आवश्यकता महसुस पर्यटन बुझ्ने सबैले गरिरहेकै हुन् । उत्सवको रूपमा र अल्पकालीन ढंगले कहिलेकाही विभिन्न पर्यटकीय सम्पदा र गन्तब्यहरूलाई जोडेर कार्यक्रमहरू संचालन गरेपनि गन्तब्य÷सम्पदा जोडेर दिगो सर्किट बनाउन सकिएको छैन । बौद्ध स्थलहरूलाई जोडेर बौद्ध परिपथ बनाउने काममा लुम्बिनी विकास कोष र सरकारले काम गरेपनि अन्य क्षेत्रहरू जोडेर एकीकृत पर्यटकीय गतिविधिहरू संचालन गर्न सकिएको छैन । यहि समस्यालाई सम्बोधन गर्नको लागि लुम्बिनी प्रदेश सरकारले चालु आ.ब.को नीति कार्यक्रम र बजेटमा लुम्बिनी क्षेत्र, स्वर्गद्वारी र बर्दिया राष्ट्रिय निकुन्जलाई जोड्ने गरि गोल्डेन ट्राङ्गल सर्किट, दाङ, बाँके र बर्दियालाई जोड्ने गरि थारु सांस्कृतिक सम्पदा सर्किट, कपिलवस्तु, नवलपरासी र रूपन्देहीलाई जोड्ने गरि अवधि साँस्कृतिक सम्पदा सर्किट र प्युठान, अर्घाखाँची र गुल्मीलाई जोड्ने खस आर्य सम्पदा सर्किटको रूपमा विकास गर्ने कार्यक्रम राखि प्रदेश सरकारले चालु वर्षको लागि ५० लाख रुपियाँ विनियोजन समेत गरेर कार्यक्रमहरू पनि शुरु गरिसकेको छ ।
प्रदेश सरकारले कार्यक्रममा समावेश गरेको बुद्ध सर्किट पुरानो अवधारणा हो र प्रदेशमा सबैभन्दा चलेको र स्थायी सर्किट पनि हो । गौतमबुद्धको जीवनसँग सम्बन्धित कपिलवस्तुदेखी नवलपरासी (पश्चिम) सम्मका बौद्ध सम्पदा स्थलहरूलाई यस सर्किटले समेटेको छ । विश्व सम्पदा सूचिमा सूचिकृत भएको लुम्बिनी, सूचिमा समावेश हुने अन्तिम चरणमा रहेको तिलौराकोट र प्रक्रिया शुरु भएको रामग्राम लगायत कुदान, निग्लिहवा, सग्रहवा, सैनामैना, देवदहजस्ता बौद्ध स्थलहरूलाई यस सर्किटले समेटेको छ । यो सर्किटमा पर्यटन चलायमान भएमा प्रत्यक्ष रूपमा कपिलवस्तु, लुम्बिनी साँस्कृतिक, सिद्धार्थनगर, बुटवल, देवदह र रामग्राम लाभान्वित भएपनि अप्रत्यक्ष रूपमा नवलपरासीका ४, रूपन्देहीका ६ तथा कपिलवस्तुका ५ वटा पालिकाहरूले यस सर्किटबाट लाभ लिन सक्छन् ।
लुम्बिनी प्रदेश सरकारले अघि सारेको गोल्डेन ट्राङ्गल महत्वाकांक्षी सर्किट हो । बौद्ध धार्मिक स्थल लुम्बिनी तथा कपिलवस्तु, हिन्दु धार्मिक स्थल स्वर्गद्वारी र प्रदेशको मुख्य पर्यापर्यटनको गन्तब्य बर्दिया राष्ट्रिय निकुन्जलाई जोड्ने उद्देश्यले यो परिपथको अवधारणा आएको हो । लुम्बिनी आएका पर्यटकलाई स्वर्गद्वारी पु¥याएर बर्दियामा बसाल्ने तथा नेपालगंज आउने पर्यटकलाई (खासगरी भारतीय) बर्दिया देखाएर स्वर्गद्वारीको दर्शन गराई लुम्बिनी भ्रमण गराउनु यस सर्किटको विशेषता हो । नेपालगंज र लुम्बिनी आउने पर्यटकलाई हिन्दुहरू माझ प्रसिद्ध स्वर्गद्वारी मन्दिरको दर्शनका साथै हिल स्टेशनको आनन्द दिलाउन यो सर्किट उपयोगी बन्न सक्छ । यो सर्किटका सबै स्थान सहज सडक संजालमा जोडिएका र हरेक ७० किमीभित्रमा स्तरीय होटेल सुविधा, होमस्टेको सुविधा, फरक भौगोलिक, साँस्कृतिक र पर्यावरणीय स्वाद लिन सकिने भएकोले यो सर्किट चलायमान हुने हो भने लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रले राम्रै लाभ लिन सक्छ ।
लुम्बिनी प्रदेश जातीय विविधतायुक्त प्रदेश भएकोले यहाँको जातीय–साँस्कृतिक विशेषतालाई थारु, मगर, अवधि, खस–आर्य सर्किटमार्फत प्रदेश सरकारले पर्यटनसंग जोड्न खोजेको देखिन्छ । दाङको भित्री मधेश खण्ड र बर्दियाको अधिकांश भूभागमा थारु समुदायको बसोबास छ भने बाँके जिल्लामा महेन्द्र राजमार्ग छेउछाउका पालिकामा थारुहरूको बसोबास छ । यी तीन जिल्लाका १८ वटा पालिकामा जनसांख्यिक रूपमा थारुहरू पहिलो स्थानमा रहेका छन् । थारुहरूका सघन तथा मौलिक वस्ती र पृथक जिवनशैलिले पर्यटकलाई आकर्षित गरिरहेको देखिन्छ । थारु समुदायको यहि पहिचानलाई प्रदेश सरकारले पर्यटनसंग जोड्न खोजेको देखिन्छ । गढवा–राप्ति गाउँपालिकादेखि पश्चिमका राजापुरसम्मका थारु वस्तीहरू जोडिएकोले यो सर्किट अन्य जातीय÷साँस्कृतिक सर्किट भन्दा प्रभावकारी र सहज देखिन्छ । तर, पछिल्लो समयमा दाङ र बाँकेका थारु वस्तीहरू परम्परागत संरचनाका नरहेका, आधुनिकीकरणमा प्रवेश गरिसकेको र थारु बहुल वस्तीमा अन्य जातजातिको पनि बसोबास भैरहेकोले पर्यटकहरूलाई थारु स्वादको पर्यटन पस्कन कठिन नै हुनेछ । थारु बहुल स्थानमा होमस्टे, सामुदायिक पर्यटन, बाँके र बर्दियामा जंगल सफारी जस्ता काम गरेमा थारु बहुल क्षेत्रले भने लाभ लिन सक्नेछन् ।
लुम्बिनी प्रदेशको रूपन्देही र कपिलवस्तुको दक्षिणी क्षेत्र तथा नवलपरासीको रामग्राम सेरोफेरोमा अवधि भाषाभाषीको जनसंख्या छ । यिनै अवधि भाषीलाई खुसी पार्नको लागि सरकारले अवधि साँस्कृतिक सम्पदा सर्किट अघि सारेको देखिन्छ । रूपन्देही जिल्लामा ११३७८६, कपिलवस्तु जिल्लामा ४५७००५ र नवलपरासी (प.) मा ४६० जना मात्र अवधिभाषी राहेका छन् । रूपन्देहीको शुद्धोधन, रोहिणी, सिद्धार्थनगर, मायादेवी गाउँपालिकामा गरि करिब २७ हजार र लुम्बिनी साँस्कृतिक नगरपालिकामा ४८८८९ जना अवधिभाषी छन् । कपिलवस्तुको कपिलवस्तु, कृष्णनगर, महाराजगंज र मायादेवीमा प्रत्येक पालिकामा ५० हजार भन्दा बढी अवधि भाषी छन् । रोहिणिदेखि कृष्णनगरसम्म पुग्दा अवधि भाषीको जनसंख्या क्रमश बढ्दै गएको देखिन्छ । वाणगंगा पश्चिमका पालिका बाहेक अरू पालिकाहरू बुद्ध सर्किटमा समावेश छन् । अवधि एक भाषा भएको र यो भाषा बोल्नेहरू बहु साँस्कृतिक समुदायका भएकोले अवधि साँस्कृतिक सम्पदा पर्यटनमा विशेष पहिचान बन्न सक्ने देखिदैन् ।
पाल्पा, रोल्पा, रुकुम (पूर्व) मा मगर जनसंख्या धेरै छ र यी जिल्लामा मगर समुदायको सघन वस्तीहरू रहेका छन् । पाल्पाको कूल जनसंख्यामा ५३ प्रतिशत मगर छन् र १० वटै पालिकामा मगर जनसंख्या पहिलो स्थानमा छ । रोल्पाको ४२ प्रतिशत जनसंख्या मगरको छ र ८ पालिकामा पहिलो स्थानमा रहेका छन् भने रुकुम पूर्वको ४९.४ प्रतिशत जनसंख्या मगरको छ र सबै पालिकामा पहिलो स्थानमा रहेका छन् । पाल्पा, रोल्पा र रुकुमका मगर वस्तीलाई साझा सर्किटमा जोड्न सकिदैन तर पाल्पाका पालिकाहरूलाई जोडेर एउटा सर्किट र रोल्पा तथा रुकुमलाई जोडेर अर्को मगर सास्कृतिक सर्किट बनाउन भने सकिन्छ । साँस्कृतिक पर्यटनको लागि मात्र नभएर पर्यापर्यटन, धार्मिक पर्यटनको लागि यो सर्किट महत्वपूर्ण हुन् सक्छ । गुल्मी, अर्घाखाँची र प्युठान खस आर्य समुदायका जातजातिहरू धेरै भएका जिल्लाहरू हुन् । खस आर्यलाई पनि पर्यटनमा समेटिएको देखाउनको लागि प्रदेश सरकारले यो सर्किट अघि सारेको छ । यस सर्किटमा रिडी, रेसुंगा, पाणिनी तपोभूमि, बलकोट, छत्रकोट, सुपादेउराली, अर्घा भगवती, खाँचीकोट, गौमुखी जस्ता ऐतिहासिक र पर्यटकीय क्षेत्रहरू रहेकोले यो सर्किटले पर्यटकलाई ल्याउन सक्छ । तर, यो सर्किटका सम्भावित पालिकाहरूमा उच्च बसाईसराई भएकोले त्यहि क्षेत्रको जनताको भने पर्यटन विकास र लाभमा सहभागिता कम हुनेछ । यो सर्किट मगर साँस्कृतिक सर्किटको बीचमा पर्ने भएकोले यी दुबैलाई जोडेर एकीकृत पर्यटन सर्किट बनाउनु जरुरी छ ।
लुम्बिनी प्रदेशमा पर्यटकीय स्थल तथा सम्पदाहरूलाई जोडेर एकीकृत पर्यटकीय योजना बनाउनु आवश्यक छ र यसको लागि एक ठाउँका पर्यटकलाई अर्को ठाउँमा पु¥याउने किसिमको पर्यटन सर्किट हुनु आवश्यक हुन्छ । अहिले सरकारले प्रदेशका सबै स्थानलाई पर्यटनमा जोड्ने भन्दै विभिन्न पर्यटन सर्किटको अवधारणा ल्याएको छ तर बुद्ध सर्किट र गोल्डेन ट्राङ्गल बाहेकका यी सर्किटहरू कुनै समुदाय र भूगोललाई खुशी पार्नको लागि ल्याएको देखिन्छ । आधा दर्जन पर्यटन सर्किट घोषणा गरेको प्रदेश सरकारले यसका लागि ५० लाख मात्र बजेट छुट्याउनुले पनि सरकारले वास्तवमै काम गर्न खोजेको छ भन्ने देखिदैन । साँस्कृतिक सर्किट बनाउँदा साँस्कृतिक सघनता, भूगोल, ऐतिहासिकता, धार्मिक स्थल, यातायातको सुविधा, मुख्य पर्यटकीय स्थलसंगको सम्बन्ध जस्ता कुराहरूलाई ख्याल गरेर गराउनुपर्नेमा प्रदेश सरकार यी काममा चुकेको देखिन्छ । प्रदेश सरकारको लगाव र घोषणा प्रक्रिया जे भएपनि विभिन्न पर्यटन सर्किटले सम्बन्धित भूगोलका मानिसहरू र पर्यटन उद्यमिमा थोरै भएपनि आशा जगाएको छ । तिनै तहका सरकारले चाहने हो भने यो आशा वास्तविकतामा परिणत नसक्ने कुरै छैन ।