© २०२३
बुटवल, २७ फागुन । मुद्रण उद्योगलाई आधुनिक प्रविधिको युग अनुसार परिमार्जित र स्तरयुक्त बनाउनुपर्ने उद्योगीहरुले जोड दिएका छन । मुद्रण उद्योग संघ, रुपन्देहीको पाल्पामा सम्पन्न दूई दिवशीय कार्यशालामा बोल्ने बक्ताहरुले पेशालाई बचाउने गरि नया प्रविधिमा जोड दिनुपर्ने बताएका हुन ।
कार्यशालामा नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष विष्णु तिवारीले व्यवसायीहरुले आफुभित्र रहेको गलत चिन्तन र व्यवहारलाई हटाएर मुद्रण व्यवसायलाई समयानुसार स्तरयुक्त बनाउँदै लैजानुपर्ने सुझाव दिए । आधुनिक प्रविधिको युुग अनुसार मुद्रण व्यवसायलाई परिमार्जित र स्तरयुक्त बनाउन जरुरी रहेको बताए । ‘पेशा नै धराशासी हुन सक्छ ।’— उनले भने । सरकारलाई मुद्रण व्यवसाय लक्षित बन्ने कानूनहरुलाई समय अनुकुल बनाउन दवाब दिनुपर्ने कुरामा जोड दिदै मुद्रण व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई व्यवस्थित बनाएर लैजान आग्रह गरे ।
कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका द्वितीय उपाध्यक्ष मनोज जिसीले हाल मुलकको आर्थिक तरलताका कारण मुद्रण व्यवसायमा समेत समस्याहरु देखिएको बताउदै जिल्लाका कामहरु बाहिर जाँदा व्यवसायीहरु मर्कामा परेको हुदा रोक्ने उपायको खोजी गर्न सुझाव दिए ।
संघका संस्थापक अध्यक्ष खेमप्रसाद लुईटेलले सरकारको आर्थिक र भन्सार नीतिमा देखिएका कतिपय अस्पष्टताका कारण मुद्रण व्यवसायमा धेरै समस्याहरु आएको छ भन्दै व्यवसायीवीचको एकतामा जोड दिए । संघले आयोजना गरेको कार्यशालामा संघको २ बर्षे रणनैतिक कार्य योजना तथा संस्थागत विकासका बारेमा छलफल गरिएको उनले बताए ।
कार्यक्रममा संघका अध्यक्ष पशुपति पौडेलले मुद्रण व्यवसायमा देखिएका समस्या समाधान गर्दै व्यवसायीवीचको एकतालाई बलियो बनाउन संघ सधै कटिवद्ध र रणनीति बनाएर अगाडी बढ्ने बताए । नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनीका अध्यक्ष घनश्याम घिमिरेले सरकारी काममा कमिसनको खेलका कारण मोफसलका कामहरु बाहिर जाँदा व्यवसायीहरु मर्कामा परेको अवस्थामा उपभोक्ताहरुको सन्तुष्टि पुरा गर्ने कुरामा जोड दिन आग्रह गरे ।
कार्यशालामा सहजिकरण गर्दै प्रशिक्षक दीपक ढकालले प्रविधिको विकाससँगै समय सापेक्ष र समय अनुकुलका व्यवसायिक योजना बनाउन तथ्याकिय आधारमा काम गर्न सुझाव दिए । कार्यक्रममा मुद्रण उद्योग संघ रुपन्देही कार्य समिति, प्रदेश समिति र केन्द्रीय पदाधिकारीसहित २२ जनाको सहभागीता रहेको संघका सचिव राजु घिमिरेले बताए ।