© २०२३
१.पृष्ठभुमि
– बुटवलको सिद्धबाबा मन्दिर आसपास तिनाउ नदीको छेउँमा फेला परेको करिब १ करोड १० लाख वर्ष पुरानो रामपिथेकसको अवशेषले नेपालमा प्रागः ऐतिहासिक कालदेखी नै मानवजातिको विकासक्रम अगाडि बढेको देखाएको छ । यस्तै गरि दाङ्ग उपत्यकाको अर्जुनखोला र काठमाडौंको फुलचौकीमा फेला परेका ढुंगाका हातहतियारहरुले ढुंगे युगमा पनि नेपालमा मानवजातिको बसोबासरहेको प्रमाणित गरेको छ । अर्कोतर्फ धार्मिक किवंदन्ती अनुसार शिवगण र देवगणको बासस्थान रहेको नेपाल रामायण कालिन मिथिला सभ्यताको उद्गम भुमी रहिआएको छ ।गौतमबुद्धको जन्मस्थलका रुपमा रहेको नेपाल प्राचिन काल देखी नै ऋषिमुनीहरुको तपोभूमि र ज्ञानको उद्गमस्थलको रुपमा समेत रहिआएको छ । काठमाडौं उपत्यका, कपिलवस्तुर खसको इतिहासले पनि नेपालमा प्राचिन समय देखी नै मानव सभ्यताको विकास भएको पृष्टी गरेको छ ।
२. भौगोलिक रुपमा आधुनिक नेपाल राष्ट्रको निर्माण प्रक्रिया
– इतिहासको आरम्भ देखी नै स्वतन्त्र र सार्वभौम मुलुकको रुपमा रहेको नेपाल आरोह र अवरोहपूर्ण यात्रा पार गर्दै आजको अवस्थासम्म आईपुगेको छ । मानव सभ्यताको विकासक्रममा गणजाति तथा काबिलाको रुपमा अस्तित्वमा रहेको आजको नेपाल विस्तारै स–साना राज्यहरुको रुपमा विकास हुदै गएको पाइन्छ । धार्मिक किर्वदन्तीमा उल्लेख भएका स—साना गणराज्यहरुको अतिरिक्त विशेष गरेर कपिलवस्तुमा शाक्यवंश र काठमाडौं उपत्यकामा गोपालवंशी, महिषपालवंशी, किराती, लिच्छविलगायत राज्यहरुको विकास भएको पाइन्छ भने पश्चिममा खस राज्यको स्थापना भएको पाइन्छ । तर वि.स. १४६१ तिर खसराज्यको विधिवत विघटन भएपश्चात माडी नदी (राप्ती नदी) पश्चिम तर्फ २२ र माडी नदि पूर्व त्रिशुली नदीसम्म २४ राज्यहरु निर्माण भए । त्यसबखत आजको नेपाल काठमाडौं उपत्यकामा मल्ल राज्य, पूर्वमा केही साना राज्य र पश्चिममा २२ र २४ राज्यहरुमा विभाजित भयो । स्थानीय शासकहरुले आफुलाई राजा घोषणा गरेर शासन गर्न थाले । त्यसको केही अन्तरालमा गोर्खामा द्रव्य शाहका सन्तती पृथ्वीनारायण शाहको उदय भयो । गोर्खा राज्यको विस्तार गर्ने क्रममा उनले विभिन्न राज्य तथा उपराज्यहरुमा विभाजित नेपालको एकीकरण प्रक्रिया आरम्भ गरे र त्यही नै भौगोलिकरुपमा आधुनिक नेपाल निर्माण प्रक्रियाको आरम्भ विन्दु बन्न गयो । पृथ्वीनारायण शाहले शुरु गरेको राज्य विस्तार र एकीकरण अभियानलाई उनका उत्तराधिकारीहरुले क्रमशः अगाडि बढाउदै नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा कागडासम्म पुर्याए ।
३. आधुनिक राष्ट्र निर्माणमा नेपाली जनताको ऐतिहासिक भूमिका
– भौगोलिकरुपमा नेपाल एकीकृत हुन थालेपनि लामो समय सम्म अन्धकारको भूमरीमा समेत फस्यो । सामन्ती राज्य व्यवस्थाबाट शोषित भएका नेपाली जनताले राणा शासन र पंचायती व्यवस्थाको सामना गर्नुपर्यो । सयौं वर्षसम्म राजनीतिक हक अधिकार प्राप्तिको लडाईमा अल्झेको नेपाल विश्वका अन्य देशहरुको तुलनमा विकास र समृद्धिमा समेत पछाडि पर्यो ।
– त्यसै क्रममा नेपाली जनताको दशकांै लामो त्याग, बलिदान र संघर्षको जगमा सम्पन्न २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्ति मार्फत स्थापना भएको संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था स्थापना भयो । आफुले चुनेका जनप्रतिनिधि मार्फत आफ्नो संविधान बनाउने नेपाली जनताको चाहना साकार भई समाजवाद उन्मुख राज्य व्यवस्था सहितको लोकतन्त्र, गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक तथा समावेशिता, जनताका आधारभुत मौलिक हक अधिकार लगायतका अन्य अग्रगामी उपलब्धिहरु संविधानमा लिपिबद्ध भए । यसरी नेपाली जनताले राजनीतिक हक अधिकार सहितको स्वतन्त्रता प्राप्त गर्ने लडाईमा विजय प्राप्त गरे । संघर्षको यो लडाईमा नेपाली जनताले एतिहासिक भूमिका निर्वाह गरे । एकप्रकारले भन्ने हो भने भौगोलिकरुपमा एकीकृत नेपाल संविधानसभाको जगमा निर्माण भएको संविधान मार्फत भावनात्मकरुपमा समेत एकीकृत हुन पुग्यो । यो प्रक्रियामा नेपालका राजनीतिक दलहरुले जनतालाई सचेत बनाउने, उनीहरुलाई गोलबन्द गर्ने र संघर्ष मार्फत स्वतन्त्रता प्रदान गर्ने कामको अगुवाई गरे ।
४. संविधान निर्माण पश्चातको अवस्था
– तर संविधान निर्माण भए पश्चात हालसम्मको अवधि नेपालको इतिहासमा एउटा संक्रमणकालीन समयावधिको रुपमा रह्यो । अनावश्यक हस्तक्षेपलाई अस्वीकार गरी संविधान निर्माण गरे वापत भारतले लगाएको नाकाबन्दीको नेपाली जनताले बहादुरीपूर्वक सामना गर्दै राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने काम भयो । संविधान निर्माणमा आफ्नो चासो सम्बोधन नभएको र आफु अनुकुल सरकारले काम नगरेको निष्र्कषका साथ विदेशी शक्तिहरुको प्रभावमा केपी ओली नेतृत्वको एमाले सरकारलाई अपदस्त गरियो । त्यसपश्चात भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बहुमत हासिल गर्यो । लगत्तै भएको आम निर्वाचनमा निर्माण भएको वाम गठबन्धनले करिब २ तिहाई बहुमत प्राप्त गर्यो र केपी ओलीको नेतृत्वमा केन्द्र देखी स्थानीय तहसम्म कम्युनिष्ट नेतृत्वको सरकार बन्यो । चुनावमा भएको कम्युनिष्ट गठबन्धन र त्यसले दिएको जनादेशका आधारमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र जस्ता नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरुको बीचमा पार्टी एकता भई नेकपा गठन भयो ।
– तर नेकपा भित्रको अन्तरविरोधले गर्दा नेकपा विघटन र नेकपा एमाले विभाजन भई नेपालको कम्युनिष्ट आन्दोलन नाटकीय मोडमा पुग्यो । परमादेश मार्फत नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी लगायतको गठबन्धन सरकार निर्माण भयो । अर्कोतर्फ संसद विघटन, परमादेशको सरकार गठन, प्रधानन्यायधीस विरुद्धको महाअभियोग, नागरिकता, एमसिसी, एसपिपी जस्ता विषयहरुले राष्ट्रिय राजनीति धुव्रिकृत बनायो ।
– यही बिचमा नेपालीजनताको निरन्तर खबरदारीका कारण २०७९ बैशाखमा स्थानीय तह र २०७९ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भयो । स्वतन्त्र उम्मेदवारहरुले स्थानीय तहको निर्वाचनमा विभिन्न स्थानमा विजय प्राप्त गरे भने प्रतिनिधिसभा मार्फत राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका विभिन्न स्वतन्त्र उम्मेदवारहरु देशको महत्वपूर्ण राजनीतिक शक्तिकारुपमा उदाए । अर्कोतर्फ निर्वाचनको परिणामले कुनै पनि राजनितिक दललाई एकल बहुमत प्राप्त हुन सकेन । तर राजनितिमा असम्भव भन्ने केही हुदैन भन्ने कुरालाई चरितार्थ गर्दै नेकपा एमालेको अग्रसरतामा प्रचण्ड नेतृत्वको कम्युनिष्ट सरकार गठन भयो । तर केही महिना नबित्दै राष्ट्रपतिको निर्वाचन सम्म आइपुग्दा फेरी पनि नाटकिए रुपमा काग्रेस, माओवादी, समाजवादी सहितको अर्को गठबन्धन सरकार निर्माण भएको पनि करिब डेढ वर्ष पुगेको छ ।
५. आजको राजनीतिक अवस्था
– नेपालमा विकसित यस प्रकारको पछिल्लो घटनाक्रमले मुलुक राजनीतिक अस्थिरताको भूमरीमा फसेको छ । कुनै पनि दलको एकल बहुमत नआउने, गठबन्धन सरकार बनाउन बाध्यहुनुपर्ने, गठबन्धन विचार भन्दा पनि स्वार्थका आधारमा निर्माण हुने र गठबन्धनको सरकार निर्माण भएपछि त्यो सरकारको प्रमख ध्यान नै गठबन्धन टिकाउनमा केन्द्रित हुने परिस्थिती देखा परेको छ ।सरकार आज ढल्ने हो कि भोली भन्ने चिन्ताले सरकारले आफ्ना गठबन्धनहरुलाई फकाउनमै व्यस्त भएका छन् । त्यसका लागि जस्तोसुकै सम्झौता गर्न पनि तयार देखिएका छन् । यसरी बनेका सरकारहरु अन्ततः ढिलो वा चाडो परिवर्तन भई नयाँ सरकार निर्माण हुदै आएका छन् । कुनै पनि दलले ५ वर्षसम्म सरकार सञ्चालन गर्न नसकेको अवस्था छ ।
– नेपालको राज्यसत्ता सञ्चालनमा भूराजनीतिक प्रभाव देखा परेको छ । चीन र भारत जस्ता विशाल र शक्तिशाली देशको बिच भागमा हाम्रो देश अवस्थित भएका कारणले समेत अमेरिका, पश्चिमा राष्ट्र, भारत, चीन लगायत विश्वका अन्य शक्ति राष्ट्रहरुका लागि चासोको विषय बनिरहेको छ । शक्ति राष्ट्रले आफ्नो स्वार्थ पूर्तिका लागि चलखेल गरिरहेका छन् र नेपालका राजनितिक दलहरु त्यसको प्रभावमा परेका छन् ।नेपालको सत्ता परिवर्तन मूलत विदेशी शक्तिको इच्छाले हुन्छ भन्ने घटनाक्रमहरुले पृष्टी गरिरहेका छन् ।
– राजनीतिक दलहरु शक्ति र सत्ताका लागि जस्तो सुकै सम्झौता पनि गर्दछन् भन्ने जनभाव स्थापित भईरहेको छ । नेताहरु आफ्नो व्यक्तिगत स्वार्थमा रमाए, देशको विकासमा भन्दा पनि पद, प्रतिष्ठा, शक्ति र धनदौलतको पछाडि लागे भन्ने मनोविज्ञान विकास भएको छ ।महंगी र भष्ट्रचारले जनता आजित भएको, सरकारी कार्यालयबाट हुने सेवा प्रवाहमा जनताले सास्ती पाएको, आर्थिक गतिविधि र विकास निर्माण प्राय ठप्प भएको, रोजगारी र अवसरको अभावले दैनिकी हजारौं युवाहरु विदेश पलायन भईरहेको जस्ता विषयले समेत राजनितिक दलहरु प्रति जनतामा वितृष्णा पैदा भएको छ । दलहरुप्रतिको विश्वास हराईरहेको छ । जनताका आवश्यकता पूरा गर्दै मुलुकलाई विकास र समृद्धिको यात्रामा अगाडि बढाउन पुराना राजनितिक दलहरु असफल भए भन्ने मनोभाव विकास भईरहेको छ । परम्परागत राजनीतिक शक्तिहरुबाट युवाहरु निराश भई नयाँ पार्टीतर्फ आर्कषित आकर्षित भईरहेको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका विभिन्न स्वतन्त्र उम्मेदवारहरु देशको महत्वपूर्ण राजनीतिक शक्तिका रुपमा उदाएका छन् । अर्कोतर्फ राजावादी शक्तिका अतिरिक्त मुलुकको राजनितिक अस्थिरताको फाइदा उठाउदै विभिन्न अराजक शक्तिहरु समेत सलबलाई रहेका छन् ।
-आज हामीले तय गर्नुपर्ने बाट अलपत्र भएको छ । संविधान जारी भएपश्चात राज्यको पुनर्संरचना मार्फत संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने राजनीतिक, कानूनी, प्रशासनिक तथा वित्तिय संरचनाहरु निर्माण गरेर नागरिकका अधिकार तथा विकास प्रतिको तीव्र आकंक्षा परिपूर्ति गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण आधारहरु तयार पार्ने काम अलपत्र परेको छ । एकातिर राष्ट्रिय हित र स्वार्थलाई केन्द््रभागमा राख्दै राष्ट्रिय स्वाधिनताको लडाईलाई रचनात्मक तथा सिर्जनात्मक तरिकाले गन्तव्यमा पुर्याउने र अर्कोतर्फ वर्गीय हितको पृक्षपोषण गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकंक्षा पुरा गर्दै समाजवादमा संक्रमणको लागि आधारशिला खडा गर्ने सर्वाधिक महत्वको कार्यभार ओझेलमा परेको छ । राजनीतिक हक अधिकार प्राप्तिको लडाई मार्फत प्राप्त गरेको विजयलाई संस्थागत गर्दै संविधानको कार्यान्वयन मार्फत आर्थिक क्रान्ति गर्दै समाजवादको यात्रा तय गर्नुपर्ने महत्वपूर्ण कार्यभार अलपत्र परेको छ ।एक प्रकारले भन्ने हो भने राजनीतिक हक अधिकार प्राप्त भएपनि विकास र समृद्धिको यात्रामा अगाडि बढ्ने काम अलपत्र परेको छ ।
६. आर्थिक अवस्था
सम्रग अर्थतन्त्र
-कुनै पनि मुलुक कुन अवस्थामा छ भन्ने कुरा त्यस देशको आर्थिक अवस्थाले निर्धारण गर्दछ । आज हाम्रो देशको आर्थिक अवस्था दयनीय छ । आर्थिक गतिविधि प्रायः शुन्य छ । उद्योग व्यवसाय चौपट छ । अर्थतन्त्र आयातमा टिकेको छ । आन्तरिक उत्पादन कमजोर छ । निर्यात घटेको छ । महंगी बढ्दो छ । आयस्रोत घट्दो छ । रोजगारीको अवसर छैन । वैदेशिक पलायन तिव्र छ । उपभोग पनि घट्दैछ । क्रयशक्तिमा हा्रस आएको छ । सरकारको बजेट खर्च गर्ने क्षमता छैन । सरकारको पुजिगत खर्च निराशजनक छ । वित्तिय अनुशासनहिनता बढेको छ । विगत ३ वर्षदेखी निरन्तर आर्थिक वृद्धिदर ३ प्रतिशत भन्दा कम छ ।
– एकप्रकारले भन्ने हो भने देशको अर्थतन्त्रको चरित्र दलाल छ । यो अनुत्पादक छ । परनिर्भर छ । राष्ट्रिय पुजीको विकास भएको छैन । उत्पादन र पुनर्उत्पादनको प्रणाली छैन । रोजगारी सिर्जना र विस्तारको योजना छैन । विकास र समृद्धिका योजना छैनन् । आर्थिक विकासका क्षेत्रहरुको पहिचान गरेर लगानी बढाउने काम भएको छैन । विद्यमान समस्यालाई समाधान गर्ने कार्यक्रम छैनन् । विश्व तीव्र आर्थिक विकासको बाटोमा अगाडि बढिरहँदा हाम्रो देश अझै पनि आर्थिक अन्धकारमा फसिरहेको छ । संक्षेपमा भन्नुपर्दा देशको अर्थतन्त्रमा संरचनागत समस्या छ र मुलुक आर्थिकरुपमा झन् कमजोर बन्दै गएको छ । तल उल्लेख गरिएका अर्थतन्त्रका केही क्षेत्रहरुलाई हेर्ने हो भने पनि त्यो अवस्था प्रतिबिम्बित भएको देखिन्छ ः
आयात र निर्यात
– आज हाम्रो मुलुकको अर्थतन्त्र आयातमा टिकेको छ । आयात मूलत २ प्रकारको छ । एउटा वस्तु तथा सेवाआयात । हाम्रो देशमा आवश्यक पर्ने नुन देखी सुनसम्म अर्को मुलुकबाट आयात गर्दछौं । अर्को शब्दमा भन्ने हो भने दैनिक जीवनमा आवश्यक पर्ने हरेक चीजहरु हामीले आयात गर्दछौ । त्यसका लागि आवश्यक पर्ने खरबौं रकम वार्षिक रुपमा विदेशिएको छ । विदेशबाट वस्तु र सेवाको आयात गरेर हामीले हाम्रो जीवन धानिरहेका छौं । अर्कोतर्फ विनियमको आयात । आफ्ना आधारभूत आवश्यकता पूरा गर्न श्रमिकको रुपमा खाडी, युरोप लगायत देशमा विदेशिएका हाम्रा नेपालीले पठाएको पैसाबाट हामी पालिएका छौं । विद्यार्थी भिसा र अन्य अवसरको खोजीमा क्यानडा, अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका देशहरुमा विदेशिएकाले पठाएको पैसामा हामी बाँचिरहेका छौं । अझ त्यतिले मात्रै नपुगेरवैदेशिक अनुदान र ऋण मागेर देश धानिरहेका छौं ।यसरी आयातमा निर्भर भएको हाम्रो देशमा आन्तरिक उत्पादन छैन ।त्यसैले निर्यात शुन्यप्रायः छ ।
रोजगारी तथा अवसरको अभाव र वैदेशिक पलायन
– नेपालमा बेरोजगारीको समस्या तीव्ररुपमा बढिरहेको छ । रोजगारीको अवसर सिर्जना हुन सकिरहेको छैन । केही गर्न चाहनेका लागि अवसर प्रयाप्त छैन । पाएको रोजगारबाट पनि आधारभूत आवश्यकता परिपूर्ति हुने अवस्था छैन । अर्कोतर्फ उद्यमशीलताको अवस्था पनि कमजोर छ । नेपालमा पनि केही गरेर राम्रो जीवन बाँच्न सकिन्छ भन्ने वातावरण निर्माण हुन सकिरहेको छैन ।
– परिणमस्वरुप आज वैदेशिक पलायन हाम्रो देशको प्रमुख समस्याको रुपमा देखा परेको छ । दैनिक हजारौं युवा विदेशिएका छन् । श्रमको खोजीमा, अवसरको खोजीमा र वैदेशिक अध्ययनका नाममा लाखौं युवाहरुको पलायन कहालीलाग्दो छ । श्रम गर्ने उमेर समूहका मानिसको पलायनले देश रित्तिदै छ । पहाडमा केटाकेटी र बुढाबुढी मात्रै भेटिन्छ । शहरमा पनि युवाहरु कम हुन थालेका छन् । छोराछोरी विदेशिएकाले बाबुआमाहरु पनि विदेशिने क्रममा वृद्धि हुन थालेको छ । परिणम स्वरुप श्रम शक्तिमा समेत ह्रास आएको छ ।
बैकिङ्ग क्षेत्र
– बैकिङ्ग क्षेत्रमा आएको उतार चढावले समेत देशको अर्थतन्त्रमा प्रभाव पारेको छ । बैकिङ्ग प्रणालीमा अधिक तरलता आएको छ । निक्षेप संकलनको तुलनामा कर्जा विस्तार न्यून छ । व्याजदरमा समेत उतार चढाव आईरहेका छन् ।बैकहरु सेवामुखी भन्दा पनि नाफामुखी भईरहको गुनासा बढेका छन् । सस्तो व्याज दरमा लिएर उच्च महंगो व्याजदरमा लगानी गर्ने प्रवृति मौलाएको गुनासो आईरहको छ । उच्च व्याजदरका कारणले उद्योगी व्यवसायीले कर्जा लिन डराईरहेका छन् । अर्कोतर्फ विस्तार भएकोकर्जा पनि उत्पादनशील क्षेत्रमा भन्दा पनि अनुत्पादक क्षेत्रमा बढी छ ।
विदेशी मुद्रा संचिती र त्यसको प्रभाव
– मुलुकको विदेशी विनियम संचिती बढेको विषय सकारात्मक देखिए पनि त्यसको कारण सकारात्मक छैन । विदेश पलायनको संख्या तिव्र भएका कारण विप्रेषण आयमा वृद्धि भएकोले विदेशी मुद्राको आयमा वृद्धि भएको छ । यस्तै गरी बाह्रय पर्यटकको संख्यामा वृद्धि हुँदा वैदेशिक मुद्रा संचिती बढेको छ । अर्कोतर्फ आयात घट्दा विदेशी मुद्रा बाहिरिन रोकिएको छ । तर आन्तिरक उत्पादनमा वृद्धि भएकोले गर्दा आयात घटेको होइन । आयात त आर्थिक गतिविधि नभएको कारणले घटेको हो । आयातमा लगाईएको प्रतिबन्ध र नियन्त्रणले गर्दा घटेको हो । एकातर्फ जनसंख्याको ठूलो हिस्सा बाहिरिदा क्रयशक्ति घटेको छ भने अर्कोतर्फ आयस्रोत घट्दा उपभोग पनि घटेको छ । यसले गर्दा पनि आयात घटेको छ जसले गर्दा विदेशी मुद्रा संचिति बढेको छ । त्यसैले यो अल्पकालीन छ । संक्षेपमा भन्नु पर्दा विदेशी मुद्राको संचिती बढेपनि त्यसले अर्थतन्त्रलाई योगदान गरेको देखिदैन । अर्थतन्त्रको बाह्य क्षेत्र तत्कालका लागि केही राम्रो देखिए पनि आन्तरिक अर्थतन्त्र विशेष गरेर सरकारी वित्त र वास्तविक क्षेत्र समस्याग्रस्त छ ।
७. सामाजिक अवस्था
– आज नेपाली समाज संक्रमणमा फसेको छ । एउटा युगको अन्त्य गरी अर्को युगमा प्रवेश गरेको नेपाली समाज अझै पनि संक्रमणकालीन अवस्थामा छ । संस्थागत भएका हक अधिकारको व्यवहारिक कार्यान्वयन हुन सकेको छैन भने नयाँ युगको आवश्यकता अनुरुप नेपाली समाजको विकास हुन सकेको छैन । विज्ञान र प्रविधिको विकासले आज विश्वका हरेक कुनाका समाचारहरु नेपालका दुरदराजमा बसेका नागरिकले समेत एउटा क्लिकमा उत्तिखेरै थाह पाउँछन् । त्यसले गर्दा विश्वका विकसित मुलुकको जस्तो विकास र समृद्धि, त्यहाँ पाउने अवसर र सुविधा तथा त्यहाँको जस्तो जिवनशैली र समाज नेपाली जनताले खोजेका छन् । त्यसप्रति नेपाली समाजको तिव्र इच्छा र आकंक्षा छ । त्यो अवस्थातत्कालै खोजेका छन् तर हाम्रो समाज त्यो अवस्थामा छैन । समाजमाजे खोजेका छन् जे चाहेका छन् त्यो अनुरुप नेपाली समाज अगाडि बढ्न सकिरहेको छैन । नेपालको राजनीति र अर्थतन्त्रको संक्रमण समाजमा प्रतिबिम्बित भएको छ ।
– समाजिक संक्रमणको परिणाम स्वरुप समाजमा निराशा पैदा भएको छ । यो देशमा केही हुनेवाला छैन,यो देश बन्दैन, यहाँ सधै यस्तै हो भन्ने भावको सिर्जना भईरहेको छ । मानिसले यहाँ आफ्नो भविष्य देख्न छोडेर विदेशिन थालेका छन् । यसले समाजमा चिन्ता र निराशा बढाउदै छ । अर्कोतर्फ समाजका नकारात्मकता हाबी बनिरहेको छ । हरेक घटना, विचार र वस्तुप्रति नकारात्मक दृष्टिकोण राख्ने प्रवृति मौलाएको छ । सामाजिक मर्यादाको समेत ख्याल नगरी अरुलाई गाली गलौज गर्ने र आफु मात्रै राम्रो अरु सबै गलत भन्ने मनोविज्ञान विकास भईरहेको छ । प्रविधिको प्रयोग गरी समाजमा गलत सूचनाहरु सम्पे्रषण गर्ने, जनतालाई भ्रमित गर्ने र समाजमा नकारात्मकता फैलाउने काम भईरहेको छ । यसका अतिरिक्त सदियौ देखि आपसी भाइचारा, सद्भाव र आत्मियताका साथ बस्दै आएका जनतालाई जात, वर्ण, धर्म र संस्कृतिका नाम विभाजित गर्ने प्रपञ्च भईरहेको छ । धार्मिक सहिष्णुतालाई बिथोल्ने दुष्प्रयास भईरहेको छ । धार्मिक र जातिय हिंसा भड्काउन खोज्ने प्रवृत्ति सलबलाई रहेको छ । सम्रगमा यस्तो संक्रमणकालीन अवस्थाले गर्दा समाजमा अराजकता र अस्तव्यस्तता निम्त्याएको छ ।
८. आजको प्रमुख समस्या
मानिस मानिसबिच भएका असमानता, भेदभाव र विभेदको समुल अन्त्य गरेर न्याय र समानता सहितको समृद्ध र खुसी समाज निर्माण गर्नु नै आजको आवश्यकता हो । कुनै पनि राष्ट्रको विकास र समृद्धि मार्फत त्यो लक्ष्य हासिल गर्न सकिन्छ । तर त्यसका लागि राजनीतिक स्थायित्व पूर्व शर्त हो । किनभने राजनीति नै सबै नितिको मूल निति हो । राजनीतिले नै समाजको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । यसले नै सबै चिजको निर्धारण गरेको हुन्छ । आज विश्वमा जति पनि मुलुकहरु विकसित भएका छन् र समृद्धि हासिल गरेका छन्, त्यसका पछाडि राजनीतिक स्थिरता नै प्रमख कारण भएको तथ्यहरुले बताईरहेका छन् ।
तर हाम्रो देश राजनीतिक अस्थिरतालाई आफ्नो विरासतका रुपमा बोकेर अगाडि बढेको छ । नेपाल लामो समय सम्म शासन व्यवस्था परिवर्तनको लडाईमा होमियो । जहाँनिया राणाशासन र निरंकुश राजतन्त्रले मुलुकलाई अशान्ति र राजनितिक अस्थिरताको भूमरीमा धकेल्यो । त्यस अवधिमा मुलुकमा शान्ति र राजनीतिक स्थिरता कायम हुन सकेन । अर्कोतर्फ प्रजातन्त्रको बहाली पश्चात पनि नेपालमा राजनीतिक स्थिरताको प्रत्याभुति भएन । २००७ सालमा प्रजातन्त्रको स्थापना भए पश्चत आरोह र अवरोहपूर्ण यात्रा पुरा गर्दै आजको अवस्था सम्म आईपुग्दा पनि नेपालमा राजनीतिक स्थिरता आउन सकेको छैन ।
राजनीतिक स्थिरताका लागि सरकारको स्थायित्व पूर्व शर्त हो । सरकारको स्थायित्वका लागि एक पटक गठन भएको सरकारले कम्तिमा पनि ५ वर्ष शासन गर्न पाउनु पर्दछ । तर नेपालमा कुनै पनि सरकार ५ वर्षसम्म टिक्न सकेको छैन । एक कार्यकालमा एक भन्दा बढी सरकारहरु निर्माण भएका छन् । सरकारहरु परिवर्तन भईरहका छन् । यसमा कुनै पनि दलको एकल बहुमत आउन नसक्नु प्रमुख कारण देखिएको छ । २०१५ सालमा भएको पहिलो आम निर्वाचन र २०४८ सालमा भएको निर्वाचनमा बाहेक अन्य निर्वाचनमा कनैपनि दलको एकल बहुमत आउन सकेको छैन । कुनै पनि दलको एकल बहुमत नआएका कारणले धेरै दलहरु मिलेर सरकार निर्माण गर्नुपर्ने बाध्यता छ । यसरी गठन भएका सरकार पूर्ण कार्यकाल टिक्न पाएका छैनन् । ढिलो वा चाडो पुराना गठबन्धन भत्केर नयाँ गठबन्धनहरु निर्माण भएका छन् र सरकारहरु पनि परिवर्तन भईरहेका छन् ।
यसरी निर्माण भएका सरकारले स्थायित्व दिन सकेका छैनन् । गठबन्धन सरकारको प्राथमिकता विकास र समृद्धि भन्दा पनि गठबन्धन टिकाउने र क्षणिक स्वार्थ प्राप्त गर्ने मात्र भएको छ । यिनिहरुले समाजमा विद्यामान समस्या र त्यसको निराकरणमा ध्यान नदिई अन्यत्र आफुलाई केन्द्रित गरेका छन् । अर्कोतर्फ सरकारको अस्थिरताको प्रभाव शासन प्रशासनमा परेको छ । आज बनेको सरकारले एकखालको नीति र कार्यक्रम ल्याएको छ तर केही महिनामा सरकार बदलिन्छ अनि पुराना नीति र कार्यक्रम अलपत्र परेका छन् र नयाँ नीति र कार्यक्रम आएका छन् । फेरि केही समयमा सरकार बदलिएका छन् फेरि अर्को नीति र कार्यक्रम आएका छन् । पुराना सबै अलपत्र परेका छन् र नयाँ पनि कार्यान्वयन हुन पाएका छैनन् । संक्षेपमा भन्नुपर्दा राजनीतिक अस्थिरताले देशको सम्रग आर्थिक र सामाजिक क्षेत्रमा समेत अस्थिरता पैदा गरेको छ ।
राजनीतिक अस्थिरताको कारण
आज हाम्रो मुलुकले अपनाएको संसदीय व्यवस्थाले मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूति दिन सकेको छैन । संसदीय व्यवस्थामा सरकारको गठन र विघटन संसदको अंक गणितले निर्धारण गर्दछ । तर नेपालमा संसदको अंक गणितले स्थायित्व दिन सकेको छैन । यो व्यवस्था अन्तर्गत दलहरुले निर्वाचनमा एकल बहुमत प्राप्त गर्न सकेका छैनन्, ५ वर्षसम्म सरकार सञ्चालन गर्न सकेका छैनन् र राजनीतिक स्थायित्व दिन सकेका छैनन् । अर्कोतर्फ यही व्यवस्था अन्तर्गत रहेको निर्वाचन प्रणालीको कारणले पनि कुनै पनि दललाई एकल बहुमत प्राप्त गर्न कठिन देखिएको छ । समावेशी र समानुपातिक व्यवस्थालाई सही ढंगले अपनाउन नसक्दा त्यसले राजनीतिक स्थिरताको प्रत्याभूति दिन सकिरहेको छैन ।
अर्कोतर्फ हाम्रो देशमा राजनितिक दलहरुको संख्या अधिक रहेको छ । क्षेत्रिय र जातिय दलहरु समेत आफ्नो प्रभाव विस्तार गरिरहेका छन् । विचारमा समानता भएपनि स्वार्थका कारणले एकै विचारका पनि धेरै राजनीतिक दलहरु क्रियाशिल रहेका छन् । परम्परागत राजनीतिक दलहरुका अतिरिक्त अन्य नयाँ दलहरु पनि अस्तित्वमा छन् । धेरै दलहरु भएका कारणले जनमत पनि विभाजित छ । निर्वाचनमा पनि मिश्रित परिणाम आएको छ । त्यसले गर्दा समेत दलहरुले एकल बहुमत प्राप्त गर्न सकेका छैनन् ।
यस्तै गरेर भूराजनीतिले समेत नेपालको राजनीतिक स्थायित्वमा प्रभाव पारेको छ । विशेष गरेर शक्ति राष्ट्रहरुको प्रभावमा गठबन्धन बन्ने र भत्कने प्रचलन देखिएको छ । दलहरु शक्ति राष्ट्रको प्रभावमा पर्ने, ती बाट परिचालित हुने र तिनका स्वार्थका आधारमा गठबन्धन निर्माण गर्ने परम्पराले समेत राजनितिक स्थायित्वमा ठूलो चुनौती थपिएको छ ।
सम्रगमा भन्नुपर्दा आज हाम्रो देश जुन अवस्थामा छ, जस्तो खालको परिस्थिति मुलुकका सामु देखा परेको छ, त्यसमा मुलुकमा विद्यमान राजनीतिक अस्थिरता नै प्रमुख समस्याको रुपमा देखा परेको छ । राजनीतिक अस्थिरताले नै आजको संकट निम्तिएको छ । राजनीतिक स्थिरता छैन, त्यसकारण देशले प्रगतिको बाटो पहिल्याउन सकेको छैन । समाजको प्रगति अवरुद्ध छ । नेपाल राजनीतिक अस्थिरताको दुष्चक्रमा फसेको छ । त्यसमा रुमलिरहेको छ ।
९. अबको बाटो
देशको विकास र प्रगतिको प्रक्रियालाई अवरुद्ध पारिरहेका तत्वहरुको पहिचान गरी त्यसको निराकरणमा नलाग्ने हो भने मुलुकमा विद्यमान समस्यालाई समाधान गर्न सकिने छैन । आज विश्व नै विकास र समृद्धिको यात्रामा अगाडि बढीरहेको परिपेक्षमा हाम्रो मुलुक पछाडि पर्नु दुर्भाग्य हो । नेपाली जनताको चाहना र इच्छालाई परिपूर्ति गर्दै देशलाई विकसित बनाउन नितान्त आवश्यक छ । त्यसका लागि राजनितिक स्थायित्व अनिवार्य छ ।
पहिलो, विद्यमान संसदिय व्यवस्था भित्र रहेका कमीकमजोरी र निर्वाचन प्रणालीमा सुधार गर्दै कुनै पनि दलको एकल बहुमत आउने परिस्थतीको निर्माण गर्नुपर्दछ । त्यसका लागि राजनितिक दलहरुबीच तिव्र धु्रवीकरण आवश्यक छ । विचारका आधारमा एकता हुनु पर्दछ र दुईवटा बलिया राष्ट्रिय शक्तिहरु अस्तित्वमा आउनु पर्दछ । त्यसो हुन सक्यो भने निर्वाचनमा दुई मध्ये कुनै एक शक्तिले बहुमत प्राप्त गर्नेछ । तर भूराजनीति, वर्तमान परिस्थति र राजनीतिक संस्कार हेर्ने हो भने धु्रवीकरण मार्फत २ वटा मात्र ठूला शक्तिहरु अस्तित्वमा आउने सम्भावना कम देखिन्छ ।
त्यसैले दोस्रो विकल्पमा जानु उपयुक्त देखिन्छ । अर्थात हाम्रो देश तत्काल संसदीय व्यवस्थाको विकल्पमा जानु पर्दछ । अर्को शब्दमा भन्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु पर्दछ । नेपालको भुराजनीति र सामाजिक बनोटका आधारमा जनताबाट निर्वाचित प्रत्यक्ष प्रधानमन्त्री र संसदबाट निर्वाचित संवैधानिक राष्ट्रपति प्रणालीमा हाम्रो मुलुक अगाडि बढ्नु पर्दछ । मुलुक निर्माणको कार्यकारी अधिकार सहितको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र देशको राष्ट्रियता, भौगोलिक अखण्डताको रक्षा गर्ने तथा संविधानको संरक्षकका रुपमा संवैधानिक राष्ट्रपति भएको व्यवस्था निर्माण गर्नुपर्दछ । यसले सरकारको स्थायित्व सुनिश्चत गर्नेछ र मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्नेछ । राजनीतिक स्थिरता हुँदा मात्र मुलुकले विकास र समृद्धिको यात्रा पार गर्न सक्नेछ ।