© २०२३
सुनवल, २१ फागुन ।
पुर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक पूर्णरुपमा सुचारु भएको छ । सिमसिम पानीका कारण डाईभर्सनमा गाडी फसेपछि हिजो साँझबाट अवरुद्ध सडक झण्डै २० घण्टा पछि सुचारु भएको हो ।
हिलोमा फसेका सवारी साधन तानेर हटाई, सडकमा रहेको हिलो पन्छ्याएपछि साँझ ४ बजेबाट सडक दुईतर्फी सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख राजु खत्रीले जानकारी दिए । गन्तव्यमा हिडेका यात्रुहरु रातभर जाममा परेपछि सडक विस्तारको ढिलाई प्रति आक्रोश व्यक्त गरेका थिए ।
पानी पर्ने वित्तिकै नयाँ बनाईएको डाईभर्सनमा मालवाहक सवारी साधन फस्ने र हिलाम्मे सडकका कारण सवारी साधन चिप्लिने समस्याका कारण पटक पटक दाउन्ने खण्डमा जाम हँुदै आएको छ । नारायणगढ–बुटवल सडक विस्तारको क्रममा दाउन्ने पहाड खण्डलाई तीन लेन बनाउन अहिले काम भईरहेको छ । समान्य वर्षाले सवारी आवागमनमा समस्या हँुदा यात्रुले सास्ती खेप्न बाध्य भएका छन् । वर्षायाम अगावै उचित मर्मत सम्भारको काम नगरे पटक पटक सडक अवरुद्ध हुने भन्दै यात्रुहरुले दाउन्ने खण्डमा प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् ।