© २०२३
पाल्पा, २० फागुन । कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले देशमा भष्ट्रचार मौलाएकाले वडाध्यक्षदेखि प्रधानमन्त्री भएका व्यक्तिसम्मको सम्पत्ति शुद्धिकरण गर्नुपर्ने बताएका छन । मन्त्री गुरुङले भ्रष्टाचारीलाई कारवाही नगरेसम्म देश समृद्धिको बाटो जान नसक्ने बताउदै भ्रष्टाचार गर्ने छुट कसैलाई नभएकाले सरकार गम्भिर भएर लागेको बताए । तानसेन नगरपालिकाले आयोजना गरेको तानसेन महोत्सव, २०८० उद्घाटन समारोहमा बोल्दै नेताहरू पारदर्शी हुन जरुरी छ त्यसैले सर्वसमतिले सम्पती छानविन गरेर सुशासन कायम गर्नुपर्ने बताए ।
प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरे, राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे, संविधानसभा सदस्य लिला सोमै, प्रदेश सांसद विर बहादुर राना, जिल्ला समन्वय समितीका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, नेपाली काग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र वि.क., राष्ट्रिय स्वतन्त्र पाटीका उपाध्यक्ष सुमन गैरे, राप्रपा अध्यक्ष डुल बहादुर कुवँर, नेकपा एकिकृत समाजवादीका कार्यवहक अध्यक्ष मोहन गैरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, नेकपा मालेका जिल्ला अध्यक्ष धनराज पौडेल र नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा लगायतले तानसेन लाई चलायमान गराउने गरी महोत्सव संचालन हुनुपर्नेमा जोड दिए ।
कृषि, रोजगार, पर्यटन उद्योग र व्यापार भन्ने नारासहित नगरपालिकाले फागुन १९ देखि २९ गतेसम्म महोत्सवको आयोजना गरेको छ । महोत्सवमा ३ सय भन्दा स्टलहरू रहेका छन् । महोत्सवले कृषि, पर्यटन, लघु तथा साना उद्यमी प्रोत्साहन गर्नुका साथै युवाहरूलाई बृत्ति विकास र रोजगार सम्बन्धी मार्ग निर्देशन र स्वरोजगार बनाउने प्रकृतिका प्रर्दशनी र अवसरहरू मेलामा राखिएको छ । सुव्यवस्थित पूर्वाधार पहिचानमूलक उत्पादन र हरित वातावरणयुक्त पर्यटकीय समावेशी साँस्कृृति नगर भन्ने नाराका साथ शूरु भएको तानसेन महोत्सव तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष प्रतिक्षा गाहा सिंजालीको धन्यवाद ज्ञापन र प्रवक्ता यादव सिंह कार्कीको संचालनमा भएको थियो ।