© २०२३
सुनवल, १६ फागुन ।
मुलुकको अर्थतन्त्र दिन प्रतिदिन ओरालो लाग्दै गैरहेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले भने अर्थतन्त्र सुधारोन्मुख रहेको दावीप् गर्दै ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन् । बुधवार पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आयोजित छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दे मन्त्री महतले अहिले मुलुकमा लगानीको वातावरण बनेको बताए ।
बैशाखमा लगानी सम्मेलन गरेर विश्वभरबाटै लगानी भित्र्याउने वातावरण बनाउन सरकारले आवश्यक कानुन संशोधनको तयारी पनि गरिरहेको उनले जानकारी दिए । ‘सहज रुपमा लगानी भित्र्याउन हामीले संशोधन गर्नुपर्ने कानुनी प्रावधानका विषयमा ड्राफ्ट तयार भईसकेको छ’ मन्त्री महतले भने, ‘अब केही दिनमै मन्त्रीपरिषदमा पेश भई कार्यान्वयनमा जान्छ ।’
सरकारले महंगी नियन्त्रण गर्न सफल भएको जिकिर गर्दै उनले अहिले सरकारले बजेटमा उल्लेख गरेअनुरुप साढे ६ प्रतिशत भित्रै मूल्य वृद्धि कायम राख्न सफल भएको दाबी गरे । राजश्व संकलनमा १० प्रतिशतले वृद्धि भएको, कोरोना महामारीपछि अहिले सबैभन्दा बढी पर्यटक नेपाल आउनु लगायतका कारणले पनि अर्थतन्त्र सकारात्मक दिशमा अगाडि बढेको पुष्टि हुने उनले बताए ।
अर्को प्रसंगमा अर्थमन्त्री महतले ऋण लिएर तिर्नुपर्दैन भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे । सरकारले व्याजदर घटाएको उल्लेख गर्दे भुक्तानीका लागि पनि समय दिएकाले तिर्नै पर्दैन भन्ने अफहवाको पछि नलाग्न आह्वान पनि गरे ।
मन्त्री महतले भूमही–भैरहवा–हुलाकी सडक खण्डको निर्माणसंगै नवलपरासीमा औद्योगिक विकास बढेर गएको बताए । अब नवलपरासीले रुपन्देहीलाई पनि पछि पार्ने बताउँदै उनले यस क्षेत्रको समग्र विकासमा साझा मत बनाउनुपर्नेमा जोड दिए । साथै उनले रामग्राम स्तुप क्षेत्रको प्रचार प्रसार गरेर पुर्वाधार विकास गरि पर्यटक भित्र्याउनुपर्नेमा पनि जोड दिए ।
१५ दिन सम्म चल्ने नवलपरासी औद्योगिक व्यापार मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र पाँच करोड बढीको आर्थिक करोबार गर्ने लक्ष्य लिइएको आयोजक उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष ओमप्रकाश अग्रहरीले बताए ।
सो क्रममा पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कंडेलले नवलपरासी सम्भवनायुक्त जिल्ला भएको उल्लेख गर्दे भन्सार नाकाको विकास, सडक निर्माण सहित पूर्वाधारको काम हुन सके आर्थिक सम्वृद्धि हासिल गर्न सकिने बताए । मेलामा बिहिवारदेखि विविध सांस्कृतिक कार्यक्रमको प्रस्तुतिका साथमा विभिन्न अन्तत्र्रिmया लगायतका कार्यक्रम हुने संघका उपाध्यक्ष गिरिराज पाण्डेले बताए ।