© २०२३
बुटवल, ६ माघ । १४ औ नवलपरासी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि प्रतापपुर गाउपालिकाले हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगिताको अन्तिम दिनको खेलहरुमा २२ स्वर्र्ण ९ रजत र १६ कास्यसहित कुल ४७ पदक जित्दै उपाधि हात पारेको हो । यसैगरि प्रतियोगितामा १५ स्वर्ण, १५ रजत र २२ कास्यसहित कुल ५२ पदक सहित सुनवल नगरपालिका द्धितिय स्थान गरेको छ । यसैगरि १५ स्वर्ण, ४ रजत र ९ कास्यसहित कुल २८ पदकसहित बर्दघाट नगरपालिका तृतिय भएको छ ।
कार्यक्रममा विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठ, प्रतापुर गाउँपालिका प्रमुख उमेश चन्द्र यादव, सरावल गाउँपालिका प्रमुख सुखाडी प्रसाद चौधरीले पुरस्कार वितरण गरेका थिए ।
यसैबिच आगामी २०८१ मा हुने १५ औ जिल्ला स्तरिय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता संचालन गर्नको लागि बर्दघाट नगर पालिकाले ओलम्पियन झन्डा रास्ट्रिय खेलकुद परिषदको झन्डा र नवलपरासी जिल्ला खेलकुदको झन्डा नगर प्रमुख शम्भुलाल श्रेष्ठ र नगर खेलकुद संयोजक दिपक थापाले संयुक्त रुपमा झन्डाहरु ग्रहण गरेका थिए ।
प्रतापुर गाउँपालिका ७ स्थित गणेश मा.बि जगन्नाथपुरमा भएको प्रतियोगितामा एथ्लेटिक्स, कबडी र भलिबल (छात्रछात्रा), मार्शल आर्टका विधाहरुमा ७ वटा पालिकाहरु सहभागी भएको नवलपरासी जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष रितमान कामु मगरले बताए । जिल्लास्तरीय प्रतियोगिताको विजेता खेलाडीहरु प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने उनले बताए । फाल्गुन ३ गते देखि ५ सम्म भएको प्रतियोगितामा ६ सय ५० खेलाडी, अफिसियल, प्रशिक्षकहरुले भाग लिएको थिए ।