Butwal Today

एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा नेपाल र मलेशिया भिड्दै

४ फाल्गुन २०८०, शुक्रबार
अ+
अ-

बुटवल,४ फागुन । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज घरेलु टोली मलेसियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे बायोमास ओभलमा सुरु हुनेछ।

उक्त खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ। एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन्।

नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल खेल्न लागेका हुन्। सीता रानामगरले कुवेतविरुद्ध ह्याट्रिक लिएकी थिइन्। नेपालको चारमध्ये तीन जितमा सीता प्लेयर अफ द म्याच चुनिएकी थिइन्।

उता माल्दिभ्सविरुद्ध रुविना क्षेत्रीले ११८ रनको ऐतिहासिक शतकको मद्दतले २१३ रनको फराकिलो अन्तरले हराएको थियो। मलेसिया घरेलु मैदानको फाइदा उठाउन चाहन्छ।

यस प्रतियोगितामा नेपाल अपराजित छ। नेपालले समूह डी मा हङकङ र भुटानलाई समान ८ विकेत तथा माल्दिभ्सलाई २१४ रनले हराएको थियो। मलेसियाले समूह सीबाट इन्डोनएसियालाई ६ विकेट, कतारलाई ३९ रन र बहराइनलाई १२६ रनले हराएको थियो। मलेसिया पनि अपराजित यात्राका साथ सेमिफाइनलमा आइपुगेको छ।

नेपाल र मलेसियाबीच महिला टी–२० आई खेलमा कुल १० खेल भएका छन् । नेपाल ७ खेलमा जित र ३ खेलमा पराजित भएको छ। पछिल्ला पाँच भेटमा नेपाल तीन र मलेसिया दुई खेलमा विजयी भएका छन्।