© २०२३
तिलोत्तमा,२ फागुन । वडा तहबाटै क्रिकेट खेलाडी उत्पादन गर्ने र खेलिरहेका खेलाडीको खेल कौशल सुधार्ने उद्देश्यले फागुन ५ गतेदेखि तिलोत्तमामा तिलोत्तमा कप क्रिकेट प्रतियोगिता शुरु हुंदैछ ।
तिलोत्तमा नगरपालिका र नवजीवन क्लबको आयोजनामा तिलोत्तमा ६ दश नम्बरस्थित खेल मैदानमा फागुन १३सम्म प्रतियोगिता हुन लागेको हो । २० ओभरमा खेलाइने प्रतियोगितामा तिलोत्तमाका १७ वडा मध्ये वडा नंं १२ वाहेक १६ वडाका टिमको सहभागिता रहने प्रतियोगिता संयोजक सागर पाठकले जानकारी दिए ।
उनले प्रतियोगिताका लागि ६ लाख बढी खर्च हुने र तिलोत्तमा नगरपाकिलाले ५ लाख वजेट छुट्टाएको र एक लाख खर्चेर खेल मैदान र पिच मर्मत गरेर तयारी गरेको बताए । प्रतियोगिताको टाईसिट ड्र र ट्रफी सार्वजनिक कार्यक्रममा तिलोत्तमा नगर खेलकुद विकास समितिका संयोजक लोकबहादुर पुनले तिलोत्तमा क्रिकेटको उर्बर भूमि भएको उल्लेख गर्दै ग्रासरुटबाटै खेलाडी उत्पादन र खेल पुर्वाधार निर्माण अहिलेको आवश्यकता भएको बताए ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशव भुसालले प्रतियोगिताका लागि मा प्रथम हुनेले ५० हजार,दोस्रोले २५ हजार,प्लेयर अफ द सिरिजले १० हजार तथा बेस्ट बलर र बेस्ट ब्याटस्म्यान ५ हजारका दरले पुरस्कार पाउने बताए । यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ट्रफी र इमर्जिङ प्लेयरलाई ट्रफी प्रदान गरिने उनले बताए ।
पत्रकार सम्मेलनमा नवजीवन क्लबका वरिष्ठ उपाध्यक्ष प्रकाश न्यौपाने, सचिव गोबिन्द पाण्डे लगायतले यो प्रतियोगिता सिंगो तिलोत्तमा नगरको भएकाले सबै वडा र नगरवासीको सहयोग रहने अपेक्षा गरिएको बताए ।