Butwal Today

कर्जा जोखिम भारको दरलाई तोडमोड गरेको समाचरप्रति एनआईसी एशियाको ध्यानाकर्षण

२ फाल्गुन २०८०, बुधबार
अ+
अ-

काठमाडाैँ।

एनआईसी एशिया बैंकले कर्जा जोखिमभारको दरलाई तोडमोड गरेको भन्ने भ्रामक समाचारप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात गर्दै उत्तरदायी बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रशारित समाचारहरूप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे हाे।

बैंकले एक सूचना जारी गर्दै भनेकाे छ, ‘हाल केही सञ्चार माध्यमहरूमा बैंकले घर कर्जाको वासल बमोजिमको जोखिम भारको दरलाई तोडमोड गरेको र रियल स्टेट क्षेत्रमा बैंकले नियमनकारी व्यवस्थाहरूले तोकेको सीमाभन्दा बढी कर्जा लगानी गरेको लगायतका विषयहरूमा प्रकाशित भ्रामक समाचारहरूप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ।’

नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशनको पूंजी पर्याप्तता फ्रेमवर्क २०१५ मा उल्लेखित जोखिम वजन वर्गीकरणसम्बन्धी व्यवस्थाहरूमध्ये आवासीय सम्पत्तिहरूद्वारा सुरक्षित दावीहरूभित्र कस्ता कस्ता कर्जाहरू पर्ने भन्ने सम्बन्धमा हाल मुलुकका अन्य वाणिज्य बैंकहरूले अपनाएका अभ्यास समेतलाई मध्यनजर गर्दै बैंकले यस सम्बन्धमा रिपाेटिङ गरेको समेत प्रस्ट पारेकाे छ।

साथै बैंकले रिपाेटिङ गरेकोमा यस सम्बन्धमा केही सञ्चार माध्यमहरूमा विभिन्न विषयहरू उठे पश्चात् बैंकले नेपाल राष्ट्र बैंक समक्ष उक्त विषयका सम्बन्धमा नियामकीय मार्गदर्शनको लागि अनुरोध गरे बमोजिम नेपाल राष्ट्र बैंकबाट प्राप्त मार्गदर्शनको आधारमा आवासीय सम्पत्तिहरूद्वारा सुरक्षित दावीहरू बैंकको बुझाईलाई अद्यावधिक गरी सोही बमोजिम नेपाल राष्ट्र बैंकलाई रिपाेटिङ गरिसकिएको बैंकले जनाएकाे छ।

यस विषय वाहेक बैंकले घर जग्गा क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा बढी कर्जा लगानी गरेको भन्ने समाचार सत्य,तथ्यमा आधारित नरहेको प्रस्ट पार्दै घर जग्गा क्षेत्रमा बैंकले आफ्नो कुल कर्जाको २५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्नेमा बैंकले २०८० पौष मसान्तसम्ममा १०.१४ प्रतिशत मात्र कर्जा प्रवाह गरेको प्रस्ट पारेकाे छ।