© २०२३
बुटवल, १ फागुन । नेपाली जुत्ता मेला बुटवल तथा मःमः उत्सव २०८० मंगलबारदेखि शुरु भएको छ । डेल्टा कम्प्लेक्सको आयोजना तथा नेपाली जुत्ता घर बुटवलको सहआयोजकमा एक महिने जुत्ता मेलाको बुटवल उद्योग वाणिज्य संघका हरि प्रसाद अर्यालले उद्घाटन गर्दै स्वदेशी उत्पादनहरु गुणस्तरमा ध्यान दिन जरुरी रहेको बताए । कतिपय स्वदेशी उद्योगका नाम दिएर लेभलमात्र लगाउने गरेको भन्दै यसप्रति उद्योगीहरु सचेत हुनुपर्ने सुझाव दिए । ‘नेपाली उत्पादनको नाममा स्टिकर टाग्ने प्रवृत्ति हट्न आवश्यक छ ।’– उनले भने । जुत्ताचप्पलमात्र नभई अन्य धेरै उद्योगहरुलाई सरकारबाट प्रवद्र्धनका कार्यक्रम अघि बढाउनुपर्ने उनले औल्याए ।
कार्यक्रममा नेपाल जुत्ता घर बुटवलका संचालक नानीराज घिमिरेले एकवर्षअघि पहिलोपटक बुटवलमा सामुहिक शोरुम खोलेको स्मरण गर्दै एक वर्षको अवधिमा देशका ११ स्थानमा उद्घाटन गरिसकेको बताए । नेपाली उत्पादनबारे जानकारी गराउने र उपभोक्तासमक्ष लग्ने गरि यो अभियान थालेको उनले बताए । वार्षिक बजेट बराबरको अहिले देशको ब्यापार घाटाको अवस्थालाई कम गर्नुको साथै स्वदेशी उत्पादनलाई बढावा दिने गरि अभियानका रुपमा आफुहरु लागेको उनले बताए । सरकार आयातमुखी अर्थतन्त्रलाई जोड दिईरहदा यसले देश समस्यामा परेको उनले बताए । अर्थतन्त्रमा ८० प्रतिशत बढि निजि क्षेत्रको योगदान दिएको बेला अझै पनि यो क्षेत्रलाई हेर्ने दृष्टिकोण गलत रहेको उनले बताए । ब्यापारीहरुलाई हेर्ने दृष्टिकोणको संस्कारलाई सकारात्मक गर्नु आजको आवश्यकता रहेको उनले बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ८ का वडाअध्यक्ष यज्ञप्रसाद पंगनीले सबै पक्षहरुको निगरानी र दबाबबाट सिमामा कडाई गर्दा स्वदेशी सामान खपत बढेको बताए ।
फुटवेयर म्यानुफ्याक्चर एशोसियन अफ नेपालका अध्यक्ष तथा नेपाली जुत्ता घरका अध्यक्ष रुद्रप्रसाद न्यौपानेले देशमा रहेका १५ सय उद्योगीहरु जुनसुकै गुणस्तरको जुत्ता तयार गर्न सक्ने क्षमता रहेको बताए । सिहदरबारदेखि आम नागरिकसम्मलाई उपयोगी जुत्ताचप्पल उत्पादन हुने गरेको बताए । चोरीपैठारीको मुख्य नाकाका रुपमा कृष्णनगर नाका मख्य भएको उनले आरोप लगाउदै यो रोक्न सके ६५ प्रतिशत वर्तमान बजारबाट ८५ प्रतिशत पुग्ने बताए । बजारमा उत्पादन र बिक्री गरि दुई च्यानल रहेको भन्दै मेलाबाट आम उपभोक्ताको चाहनालाई बुझ्न सहयोग मिल्ने उनले बताए ।
कार्यक्रममा डेल्टा मार्ट तथा नेपाली लुगाघरका संचालक प्रकाश भुषालले जुत्ता मेला चलाएको एक वर्षको अवधिमा धेरै राम्रो बजार बिस्तार भएको बताए।ब्यापार एकदिनलाई नभई युगसम्म हुने भन्दै उपभोक्ताको सन्तुष्टिलाई पहिलो प्राथमिकता रहने उनले बताए ।
कार्यक्रममा रुपन्देही व्यापार संघका कार्यबाहक अध्यक्ष कृष्ण पराजुलीले सिआईएन संस्थागत रुपमा मेकिङ र मेड ईन नेपाल नारासहित अभियान चलाएको उनले बताए । जुत्ताको बजार राम्रो भएपनि यसलाई नया ढंगबाट अघि बढाउन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा उद्योग व्यापार संघ रुपन्देही अध्यक्ष विष्णुप्रसाद पाण्डेले जुत्ता मेला समयको माग भएको बताए । उपभोक्ताहरुलाई उत्पादन चिनाउनेमात्र नभई अब सरकारी स्तरबाट नै प्रयोगलाई बढावा दिने गरि बढ्न जरुरी रहेको उनले बताए ।
‘स्वदेशी उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ नारासहित डेल्टा कम्प्लेक्स परिसरमा फागुन ३० गतेसम्म चल्ने मेलामा नेपालका ख्याति प्राप्त फुटवेयर ब्राण्डहरुको बृहत् प्रर्दशनी, ५ हजार बढि प्रकारका फ्याक्ट्रिका उत्पादनहरु राखिएको संयोजक चोलाप्रसाद पाठकले बताए ।