© २०२३
सल्यान, २९ माघ । सल्यानका व्यवसायीले नापतौलमा प्रयोग गरिने ढक, तराजु, लिटर, मिटर लगायतका सामग्रीको परीक्षण र प्रमाणीकरण सेवा स्थानियस्तरबाटै पाउने भएका छन् । जसका लागि सल्यान उद्योग वाणिज्य संघले जिल्लाका ६ स्थानमा शिविर चलाउँदैछ ।
गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतको सहयोग तथा समन्वयमा यहि फागुन १ गतेदेखि ६ गतेसम्म सल्यानका विभिन्न बजारमा नापतौलमा प्रयोग गरिने सामग्रीको पुरानो नविकरण सेवा प्रदान गरिने उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष कुमार बुढाथोकीले जनाए । जिल्लामा संचालन हुने घुम्ती शिविरबाट स्थानीय स्तरमै उद्योगी, ब्यापारी तथा व्यवसायीले लाभ उठाउन सक्ने उनको भनाइ छ ।
वाणिज्य संघले एक सुचना जारी गर्दै शिविर संचालन हुने समयतालिका पनि सार्वजनिक गरेको छ । जस अनुसार फागुन १ गते कपुरकोट, खाली, गर्पा, रिम, लुहाम, लोटाउने, ढुंगेबजार, रिखेबजार र काभ्रामा घुम्ती शिविर संचालन हुनेछ । यस्तै २ गते श्रीनगर, साहुटोल, दुलधारापोखरा, मार्के, जयतपानीमा र ३ गते बरला, रामेखोला, ढोरचौर, चाख्लीघाट, पटारे, मोखला, दमाचौर, पाथिहाल्ना र कोटमौलामा शिविर आयोजना गरिएको सल्यान उद्योग वाणिज्य संघले जनाएको छ । यस्तै फागुन ४ गते थारमारे, बागचौर, खरिवोट, टाटके, वाफुखोला, पेदीखोला र बांगेलाखुरीमा, ५ गते चोरपानी, मौलोहाले, फारुलाचौर, बडागाउ, रागेचौर, नेटाबजार तथा ६ गते सुनौली, सल्लीबजार, बालुवासंग्रही, ढोरपिपल, रैकरमा घुम्ती शिविर संचालन हुनेछ ।
नाप तौल सम्वन्धीका सामाग्रीहरू किला, कांठा, ढक, तराजु, लिटर, मिटर, चेक जांच गरी पुरानो नविकरण तथा नयां दर्ता समेत गरिने भएकाले आ–आफ्नो पाएक पर्ने बजारहरूमा उपस्थिती भई सेवा लिन सम्मपूर्ण उद्योगी व्यापारीहरूमा वाणिज्य संघले अनुरोध गरेको छ ।
नयां दर्ताको लागि स्थायी लेखा नम्बर र आधिकारीक पसलबाट ३५ दिन ननाघेको नापतौलका सामाग्रीहरू खरिद गरेको विल अनिवार्य हुनुपर्नेछ जनाउदै वाणिज्य उपाध्यक्ष भरत कुमार बस्नेतले आन्तरिक राजश्व कार्यालयमा दर्ताको लागि स्थानीय तहमा दर्ता प्रमाण पत्र नागरिकता, लाल पुर्जाको फोटोकपी तथा फोटो र घर भाडामा भए घर बहाल सम्झौता हुनु पर्ने बताए ।
नापतौलका सामग्रीहरूको परीक्षणबाट उपभोक्ता अधिकार थप बलियो हुने उनको अपेक्षा छ । नापतौलका सामग्रीहरू दर्ताविना सञ्चालन गर्नु कानुनविपरीत हुने भएकाले अनिवार्यरूपमा दर्ता गरेर प्रयोगमा ल्याउन पनि आग्रह गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतले व्यापारी व्यवसायीले प्रयोग गर्ने नापतौलका यन्त्रको अनुमति प्रदान गर्ने, जाँच गर्ने, नवीकरण गर्ने, अनुगमन गर्ने, घटीबढी भएको छ भने त्यसलाई कारवाही गर्ने लगायतका काम गर्दछ ।