© २०२३
नेपालगन्ज, २८ माघ। नेपालगन्जमा शनिबारबाट ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन भएको छ । बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद माया पुनले राष्ट्रलाई चिनाउने गौरवको क्षेत्र खेलकुद नै राज्यको आँखाबाट ओझेलमा परेको बताईन् ।
जीवनभर खेलेपनि खेलाडीलाई जीवन यापन गर्न समस्या हुने गरेको बताउँदै उनले खेलकुदका भौतिक संरचनालाई संरक्षण गर्नुपर्ने अवस्था रहेको औल्याईन् । साँसद पुनले जिल्लाका खेलकुदलाई अगाडी बढाउन आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता समेत ब्यक्त गरिन् ।
प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडीले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष संदिपजंग शाहले जानकारी दिए ।
जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएपछि आगामी फागुन ११ गतेदेखी १३ गतेसम्म बुटवलमा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाका उत्कृष्ट खेलाडीले सहभागिता जनाउनेछन् । बाँके जिल्लाले लगातार दुईपटक पहिलो स्थानसहित उपाधि जितेकाले यसपटक पनि जितेर प्रदेश स्तरीय प्रतियोगितामा ह्याट्रीक गर्ने रणनीति बनाएको अध्यक्ष शाहले बताए ।
यही माघ २९ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एथलेटिक्स, मार्सलाट लगायत विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको आयोजक जिल्ला खेलकुद विकास समिति बाँकेका उपाध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए । शनिबार सम्पन्न एथ्लेटिक्स तर्फ ६ स्वर्णसहित राप्ती सोनारी प्रथम भएको छ । ४ बाइ १०० रिले छात्रातर्फ, छात्र छात्रा १५०० मिटर दौड, छात्रा ४०० मिटर डौड र छात्र लङजम्प तथा छात्र शटपुटतर्फको प्रथम उपाधिमा राप्ती सोनारीका खेलाडीले कब्जा जमाउन सफल भएका हुन् ।
यसैगरी शनिबार सम्पन्न कराँतेतर्फ कोहलपुर नगरपालिकाले ८ गोल्ड, ३ सिल्भर प्राप्त गर्दै प्रथम भयो । बैजानाथ गाउँपालिकाले ४ गोल्ड, ७ सिल्भर र एक ब्राउन्ज जित्दै दोस्रो स्थान ओगट्न सफल हुँदा राप्तीसोनारी गाउँपालिकाले एक सिल्भर र ८ ब्राउन्ज जित्दै तेस्रो स्थान ओगट्न सफल भयो ।
यस्तै प्रतियोगिता अन्तर्गत पहिलो दिन अन्य विभिन्न विधाका खेलहरु सम्पन्न भएकाछन् । कबड्डी छात्रातर्फ सम्पन्न खेलमा खजुरा गाउँपालिका र नेपालगन्ज उपमहानगपालिका फाइनलमा पुगेकाछन् । भने बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिका तेस्रो स्थान ओगट्न सफल भएकाछन् । यस्तै छात्रतर्फको कबड्डी भने भोली आईतबार हुनेछ ।
नेपालगन्ज रंगशालाको कर्भड हलमा भएको छात्र भलिबलतर्फ फाईनलमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका भिड्नेछन् । शनिबार भएको खेलमा राप्तीसोनारीलाई बैजनाथले र कोहलपुरले नेपालगन्जलाई हराउँदै फाईनलमा पुगेका हुन् । भने नेपालगन्जलाई हराउँदै राप्तीसोनारी तेस्रो स्थान हुन सफल भएको छ । खेलकुद विकास समिति बाँकेका उपाध्यक्ष चेतकान्त भट्टराईका अनुसार प्रतियोगितामा बाँकका स्थानिय पालिकाहरुबाट छजनौट भएर आएका करिव १ हजार खेलाडी सहभागी भएकाछन् ।