© २०२३
सल्यान, २६ माघ । सल्यानको मुख्य ब्यापारिक केन्द्र श्रीनगर देखि छत्रेश्वरी गाउँपालिकाको सिरुवाली सुटेखला सम्म सिधा बस संचालन भएको छ । छत्रेश्वरी गाउँपालिकाले वडा नम्बर ५ को ढुङ्गेपानीदेखि सिरुवाली अमिलाबोट सम्म मोटरबाटो निर्माण गरेपछि गाउँमा पहिलोपटक बस पुगेको गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतले जानकारी दिए । सिरुवाली सुटेखला सम्म मोटरबाटो निर्माणका लागि गाउँपालिकाले चार लाख ८० हजार रूपैयाँ लगानी गरेको थियो ।
बिहिबार बिहान मोटरबाटो उद्घाटन गर्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले सडक संजालले बिकासका अन्य ढोका खोल्ने भन्दै सडकको उपयोग, मर्मत सम्भारमा पनि स्थानीय उपभोक्ताले ध्यान दिनुपर्ने बताए । गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले गाउँमा सडक तथा यातायातको पहुँच भयो भने धेरै कुरामा राहत र अवसर सृजना हुने धारणा व्यक्त गरिन ।
यस मोटरबाटो निर्माण संगै एक सय बढी घरधुरिले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् । ढुङ्गेपानीदेखि सिरुवाली सम्म करिव एक हजार पाँच सय मिटर नयाँ मोटरबाटो निर्माण भएको गाउँपालिकाका प्रवक्ता बस्नेतले जानकारी दिए । मोटरबाटो उद्घाटन अवसरमा गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीयहरू हर्षित भएका छन् । उनीहरूले बसका चालकलाई पैसाको माला संगै टीका अविरले स्वागत गरेका थिए ।
सल्यान रुकुम यातायात प्रालिको ना ७ ख ६०६५ नम्बरको बस पहिलोपटक पुगेको हो । आफ्नो प्रती जग्गा उपलब्ध गराएर मोटरबाटो बनाउन दिने स्थानीयहरूलाई सो अवसरमा ५ नम्बर वडा कार्यालयको तर्फबाट सम्मान गरिएको थियो ।