© २०२३
बुटवल, २६ माघ ।
शुक्रबार आफ्नै होम ग्राउण्डमा लुम्बिनी प्रदेश भलिबल संघको टिम समूह बि मा विभागीय टिमसंग प्रतिस्पर्धाको तयारीमा छ । महेन्द्रनगरमा कोशी र वागमतीलाई पराजित गरेको लुम्बिनी प्रदेश विभागीय टिम नेपाल त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसंग निक्कै प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो । त्यो हारको बदला लिने गरी टिम तयारीमा रहेको टिम क्याप्टेन चिरन खड्काले बताए ।
‘होम ग्राउण्ड र दर्शकको साथ दुबै हाम्रो लागि प्लस प्वाईन्ट हुने छ’–उनले भने । लुम्बिनीको टिम कम्मर कसेर तयारीमा लागेको छ । भर्खरमात्र महेन्द्रनगरमा भएको मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी प्रदेशलाई यो अवसर पनि हो । ‘हामीले राम्रो अनुभव बटुलेका छौ’– टिम क्याप्टेन चिरन खड्काले बताए । विभागीय टिमसंग भएको हारको बदला लिने गरी तयारीमा लागेको उनले बताए । ‘त्यसबेला रिसिभमा धेरै कमजोरी भएको थियो’– उनले भने ।
अहिले एक सातादेखि बन्द प्रशिक्षणमा रहेको टिम त्यसलाई सुधारमा लागेको उनले बताए । नियमित अभ्यासमा रहेकाले पनि अब टिम बलियो अवस्थामा रहेको छ । युवा खेलाडीहरुले भरिएको लुम्बिनी टिममा अनुभवको कमीलाई पुरा गर्ने गरी अभ्यासलाई जोड दिएको टिम कोच थम्मन खत्रीले बताए । विभागीय टिमसंग खेल्ने गरी मानसिक रुपमा टिम तयार रहेको उनले बताए ।