© २०२३
बुटवल ।
विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न बिहीबारदेखि बुटवल उपमहानगरपालिकाले अन्तर विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता शुरु हुँदैछ ।
माघ २५ गते बिहीबारदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी हुने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।
प्रतियोगिताको बिहीबार बिहान ११ बजे देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटन खेल न्यू होराइजन मावि र तिलोत्तमा माविका बीचमा मध्यान्ह १२ बजे फिफा टेक्निकल सेन्टरको मैदानमा हुने छ । यस्तै बिहीबार नै अक्सफोर्ड मावि र त्रिभुवन युनाइटेड, कालिका मानवज्ञान मावि र बुटवल माविका बीचको खेल फिफा टेक्निकल सेन्टरमा हुनेछ । बिहीबार नै जवई खेल मैदानमा सरस्वती मावि र ज्ञानपुञ्ज मावि, नवीन औद्योगिक र बुटवल ग्लोरीका बिचमा खेल शुरु हुनेछ ।
प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थी मात्रै सहभागी हुन पाउने छन् । प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८–१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका लालहरि पाण्डेले जानकारी दिए ।
उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८–८ हजारका दरले पुरस्कार पाउनेछन् ।