© २०२३
बर्दघाट, १३ माघ । दक्षिण अफ्रिकामा जारी अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानमाथी रोमान्चक जित निकालेको छ । सुपर सिक्स प्रवेशका लागि निकै महत्वपूर्ण खेलमा अफगानिस्तानमाथी १ विकेटको जित निकाल्दै नेपाल सुपर सिक्स प्रवेश गरेको हो ।
अफगानिस्तानले नेपाललाई राखेको १ सय ४६ रनको विजयी लक्ष्य नेपालले ४४ दशमलव ४ ओभर खेल्दै ९ विकेट गुमाएर भेटाएको थियो । नेपालको लागि कप्तान देव खनालले अर्धसतकिय पारी सहित ५८ रनको उत्कृष्ट खेल प्रदर्शन गरे । लक्ष्य पच्छाएर ब्याटिड गर्न मैदानमा उत्रिएको नेपालको सुरुवात खराव रह्यो । नेपालका ओपनर ब्याटर अर्जुन कुमाल पाँचौ ओभरमा ब्यक्तिगत १० रन बनाउँदै आउट भए । यसअघि नेपालको सिनियर टोलीमा समेत उत्कृष्ट प्रदर्शन गरेका गुलशन झा मात्र १ रनमा सातौ ओभरमा पवेलियन फर्केपछि नेपाली टोलीमा दवाव सिर्जना भएको थियो । नवौँ ओभरमा अर्का ओपनर ब्याटर विपिन रावल पनि मात्र २ रनमा पवेलियन फर्केपछि नेपाली टोली लरखराएको थियो ।
कमजोर ब्याटिड प्रदर्शन गरेको नेपालले आफ्नो चौथो विकेटको रूपमा आकाश त्रिपाठीलाई टिम स्कोर ७३ हुँदा र दिपक डुम्रे ८४ रनमा गुमाएपछि लरखराएको टोलीलाई कप्तान खनालले सम्हालीरहँदा अर्को छेउबाट दिपक बोहोराले साथ दिँदै नेपालको लागि विजयी यात्रा तय गरेका थिए । बोहोराले ४२ बल खेल्दै २७ रन जोडेका थिए । नेपालको लागि सुवास भण्डारीले रन चौका प्रहार गर्दै नेपालको जित सुनिश्चित गरेका थिए । टस जिती पहिले ब्याटिड गर्न उत्रेको अफगानिस्तानलाई नेपाली बलर आकाश चन्दले धराशायी बनाएका थिए । चन्दले ८ ओभर बलिड गर्दै ३४ रन खर्चेर ५ विकेट लिएका थिए ।
अफगानी टोली सुरुबाटै दवावमा रहेको थियो । नेपालले अफगानिस्तानको ५ विकेट पहिलो पावल प्ले (१० ओभर) भित्रै लिएको थियो । २१ औँ ओभरमा ८ विकेट गुमाएर मात्र ८८ रन जोडन सकेको अफगानिस्तानको लागि कप्तान नासिर खानले ३१, गजनाफरले ३७ र फारोदुन जावोजादीले २९ रन जोडदै टिम स्कोर १ सय ४५ रन पु¥याएका थिए । अफगानिस्तानका ५ खेलाडी सुन्य रनमै आउट भएका थिए ।
अफगानिस्तानले ४० दशमलव १ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र १ सय ४५ रन जोडन सकेको थियो । नेपालका दिपेश कँडेलले २, गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले समान १—१ विकेट लिएका थिए ।
जितसँगै नेपाल समुह डि बाट पाकिस्तान, न्युजिल्याण्ड सँगै सुपर सिक्समा प्रवेश गरेको छ । यसअघि सम्पन्न समुह चरणको खेलमा नेपाल न्युजिल्याण्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । समूह डी मा रहेको नेपाल समुहमा तेस्रो रहँदै सुपर सिक्समा पुग्न सफल भएको हो । सुपर सिक्समा नेपालले समूह ए का शीर्ष तीन टोलीविरुद्ध खेल्ने छ । सो समूहबाट भारत सुपर सिक्समा पुगिसकेको छ भने बाँकी दुई टोली बंगलादेश र आयरल्याण्ड रहने प्रबल सम्भावना रहेको छ ।
सुपर सिक्समा नेपालको समुहबाट छनोट भएका टोली विरुद्धको अंक र रनरेट पनि गनिने छ । नेपालले न्युजिल्याण्ड र पाकिस्तान विरुद्ध हार बेहोरेको हुँदा नेपालको सुपर सिक्सको सुरुवातमा कुनै अंक रहने छैन ।
अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूहको तेस्रो स्थानमा रहेर दोस्रो चरणमा प्रवेश गरेको हो । नेपालले ३ खेलमा २ अंक जोड्दा अफगानिस्तान भने अंकविहिन रहँदै पुछारमा रहेर विश्वकप यात्रा टुंग्यायो । समूह चरणमा प्रतिस्पर्धा गरेका १६ टोलीमध्य सुपर सिक्समा हरेक टोलीबाट ३–३ टोली पुग्ने प्रावधान रहेको छ । सुपर सिक्समा समूह ए र डी का टोलीले एक अर्कासँग खेल्दा समूह बी र सी का टोली पनि भिड्नेछन् ।
समूहमा पहिलो हुने टोलीले सुपर सिक्समा अर्को समूहको दोस्रो र तेस्रो सँग खेल्नेछन् । यस्तै दोस्रो हुनेले अर्को समूहको पहिलो र तेस्रो तथा तेस्रो हुने टोलीले अर्को समूहको पहिलो र दोस्रोसँग खेल्ने तालिका छ । यस्तोमा नेपालले अब सुपर सिक्सको समूह १ मा समूह ए को विजेता र उपविजेता सँग खेल्नेछ । समूह ए मा भारत शीर्ष २ स्थानमा रहने पक्का हुँदा बंगलादेशले पनि पछ्याउने सम्भावना रहेको छ ।
नेपालले अब ३१ जनवरीमा समूह ए को उपविजेता तथा फेब्रुअरी ३ मा समूह ए को विजेतासँग खेल्नेछ । सुपर सिक्समा समूहको अंक पनि जोडिने हुँदा नेपालले सेमिफाइनलमाको सम्भावना राख्न दुवै खेल जित्नुपर्नेछ । समूह १ र २ का शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । चौथो स्थानको अफगानिस्तानले भने अब समूह ए को चौथो टोलीसँग खेल्नेछ । à