© २०२३
लुम्बिनी ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ३ पडरियामा इण्डो नेपाल क्रिकेट प्रतियोगिता यही माघ १३ गतेबाट हुने भएको छ ।
नव युवा क्लबको आयोजनामा प्रदेश खेलकुद परिषद लुम्बिनीको सहयोगमा प्रतियोगिता हुन लागेको हो । खेलमा नेपालबाट १६ टिम र भारतबाट १६ टिम गरी जम्मा ३२ टिम सहभागी हुने भएका छन् । खेलमा नेपालबाट नेपाली खेलाडी मात्र खेल्न पाउने छन् र फाइनल खेलमा ३ जना मात्र विदेशी खेलाडीले नेपालको टिमबाट खेल्ने पाउने छन् ।
खेलाडीहरुको पोशाक एक मात्र रंगमा हुनेछ । टाढाबाट आउने खेलाडीहरुलाई खानाको ब्यवस्था रहेको छ । यो खेलमा प्रथम हुनेलाई रु २ लाख र ट्रफी, दोस्रो हुनेलाई रु १ लाख र ट्रफी र म्यान आफ द म्याच रु १५ हजार, अनुशासित टिमलाई २० हजार पुरुस्कार, उत्कृष्ट ब्याट्सम्यान रु ७ हजार, उत्कृष्ट बलर रु ७ हजार, म्यान अफ द म्याच रु १ हजार दिने आयोजकका अध्यक्ष अहमद हुसेन खाँनले जानकारी गराए ।
स्थानीय स्तरबाटै खेलाडीहरुलाई प्रोत्साहन गरी क्रिकेट खेल प्रति रुची जगाउने उद्देश्यले “पडरिया लुम्बिनी प्रिमियर लिग” को नामले प्रतियोगिता हुँदै आएको छ ।
प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगर र नेपालबाट सिरहा, नेपालगञ्ज लगायतका स्थानबाट टिमहरुले भाग लिने उनले बताएका छन् ।
यसपाली प्रतियोगितामा करिब २० लाख खर्च लाग्ने उनले बताएका छन् । प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् लुम्बिनीसंगै लुम्बिनी सांस्कृतिक नगरपालिका र स्थानीय सघं संस्थाको सहयोग हुने भएको छ ।