© २०२३
बुटवल ।
रुपन्देहीको देवदहमा शुक्रबारदेखि प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिा आयोजना हुने भएको छ । देवदह–७ मा अवस्थित देवदह माविमा ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नगरका २५ वटा विद्यालयका विद्यार्थी प्रतिस्पर्धा गने छन् ।
प्रतियोगिता स्थलको अवलोकन गर्दै नगर प्रमुख ध्रुब प्रसाद खरेलले खेलकूदको माध्यमबाट देवदहलाई नयाँ पहिचान दिलाउन अहिलेको प्रतियोगिता महत्वपूर्ण रहने उल्लेख गरे ।
प्रतियोगिताको व्यवस्थापन तथा निर्देशन समिति समेत रहेका खरेलले नगरमा पहिलो पटक राष्ट्रपतिकप रनिङ शिल्ड प्रतियोगिता गर्न लागिएकाले विद्यार्थी, अभिभावक, शिक्षक तथा खेलप्रेमीहरुमा नयाँ उत्साह सिर्जना भएको दाबी गरे ।
प्रतियोगितामा विभिन्न इभेन्टमा गरी सामुदायिकतर्फ १५ तथा संस्थागततर्फ १० गरी २५ विद्यालयका ९९८ जना विद्यर्थीले प्रतिस्पर्धा गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिए । छात्र÷छात्रा भलिबल, कबड्डी, एथलेटिक्स तथा मार्सल आर्ट्स गरी ३२ स्वर्णका लागि प्रतिस्पर्धा हुने सापकोटाले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि देवदह नगरपालिकाले १० लाख रकम वार्षिक बजेटमै विनियोजन गरेको छ भने संघीय सरकारबाट १ लाख रुपैयाँ अनुदान प्राप्त भएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिइन् । प्रतियोगिता सम्पन्न गर्नका लागि १३ लाख ५० हजार खर्च अनुमान गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न लाग्ने अपुग रकम नगरपालिकाको श्रोतबाट नै व्यवस्था गरिने उनले जानकारी दिइन् ।
देवदह माविका अध्यक्ष सुरज खरेलले प्रतियोगिताले विद्यालयको खेलकूद पूर्वाधार विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने बताए ।