© २०२३
कपिलवस्तु, ९ माघ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईले कपिलवस्तु नगरपालिका वडा नं. ९ जगदिशपुरको कनकमुनी माबिको खेल मैदानमा क्रिकेट खेलेका छन् ।
युवा क्लबका खेलाडीलाई क्रिकेट खेलको सामग्री हस्तान्तरणका लागि आएका उनले आयोजकको आग्रहमा ब्याटिङ्ग गरेका हुन् । कनकमुनीको खेल मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक वसन्त शाहीले बलिङ्ग गरे भने प्रशिक्षक देशाईले ब्याटिङ्ग गरेर युवा खेलाडीलाई प्रोत्साहित गरे । “पिचमा खाल्डाखुल्डी रहेछन् । यसमा त बल स्विम हुन्छ नि” उनले युवा खेलाडीहरुलाई सुझाव दिदै भने ।
आफु पनि मुम्बईको सानो नगरस्तरको खेलबाट खेलाडी बनेको उनले स्मरण गरे । खेलका लागि लगन भए खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सक्ने उनको भनाई थियो । बुटवल टुडेकर्मीलाई प्रतिक्रिया दिदै प्रशिक्षक देशाईले नेपालमा क्रिकेट खेलको भविष्य राम्रो रहेको बताए । उनले नेपालको खेलमा भएको मेहनतका कारण एकदिवसीय वरियता जोगिनुका साथै बिश्वकपको क्वालिफायरमा खेल्न पाएको स्पष्ट पारे । नेपाल चाडैं बिश्वकपमा खेल्नेमा उनले बिश्वास दिलाए ।
कपिलवस्तु आएका प्रशिक्षक देशाईले सो वडा नं. ९ का युवा क्लबका खेलाडीलाई क्रिकेट खेलको सामग्री हस्तान्तरण गरे । शंकरदेव क्याम्पस काठमाण्डौका स्ववियु सभापति सुशान्त बस्नेत र लुम्बिनी बिकास कोषका परिषद सदस्य युवा समाजसेवी गोपीकृष्ण शर्मा मार्फत युवा क्लबलाई एउटा टोलीका लागि आवश्यक पर्ने करिब १ लाख मूल्यको खेल सामाग्री हस्तान्तरण गरेका हुन् ।
वडा नम्बर ९ का समाजसेवी मधुसुदन भट्टराईले खेलाडीहरुका तर्फबाट पहल गरे पछि बस्नेतले उपलब्ध गराएको सो खेल सामग्री वडा नं. ९ का खेलाडीहरुलाई उपलब्ध गराईएको समाजसेवी शर्माले बताए । युवा टोलीको खेलमा उत्कृष्ट प्रदर्शन रहँदै आएको र आगामी दिनमा उत्कृष्ट प्रदर्शनमा खेल सामग्रीले सहयोग पुग्ने शर्माको भनाई थियो ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का युवा खेलाडीलाई क्रिकेट खेलको प्रदर्शन अझै उत्कृष्ट बनाउन सामग्री हस्नतान्तरणले सहयोग मिलेको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का अध्यक्ष दिपक गुरुङ्गले बताए । खेल सामाग्री हस्तान्तरण कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का अध्यक्ष गुरुङ्ग, राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक बसन्त शाही, समाजसेवी ललित गुरुङ्ग, मधुसुदन भट्टराई, वडा सचिव बिजय पोख्रेल लगायतको सहभागिता रहेको थियो । हस्तान्तरण कार्यक्रम पछि प्रशिक्षक देशाईको टोलीले बुद्धस्थल (प्राचिन कपिलवस्तु) तिलौराकोट दरबारको अवलोकन गरेको थियो ।
भिडियो सामग्री