© २०२३
सल्यान, २ माघ । सल्यानको दार्मा गाउँपालिकामा १६ देखि २४ वर्षसम्मका युवाहरूले नमुना युवा गाउँसभाको अभ्यास गरेका छन् । नमुना गाउँसभामा नीति कार्यक्रम, बजेट तथा कार्यविधि पेश गर्ने, छलफल गर्ने र पारित गर्नेलगायतका विषयमा युवाहरूले अभ्यास गरेका थिए ।
नमुना युवा गाउँसभा अभ्यासका लागि दार्मा गाउँपालिकाका प्रत्येक वडाबाट ३–३ जना, र गाउँपालिकाबाट ६ जना गरेर २६ जना युवा सहभागी गराई चार दिनसम्म उनीहरूलाई संसदीय प्रक्रिया, ज्ञानको बारेमा जानकारी दिइ नमुना युवा संसद कार्यक्रम सञ्चालन गरिएको हो ।
नमुना गाउँसभा अभ्यासमा गाउँसभाका सदस्यहरूको निर्वाचन विधिबाट हुने छनौट, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्यहरूले खेल्ने भूमिका, नीति तथा कार्यक्रम प्रस्तुति, बजेट प्रस्तुति, योजनाहरू संकलन, छनौट, वडा समितिमा छलफल तथा पालिकामा पेश गर्ने, बजेटमाथिको दफादार छलफल, विषयगत समितिहरूबीच छलफल, बजेट पारितलगायतका विषयमा सैद्धान्तिक तथा व्यवहारिक अभ्यास गराइएको दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख तिलक केसीले जानकारी दिए ।
केही दिन अघि संचालन भएको नमुना गाउँसभामा नीति कार्यक्रम, आगामी आर्थिक बर्ष २०८०/८१ को बजेट र आर्थिक ऐन र विनियोजन विधेयक समेत पेस गरिएको थियो । गाउँसभामा सहभागी कतिपय सदस्यहरूले नीति कार्यक्रम र बजेट चित्तबुझ्दो नभएको भन्दै सुझाव दिएका थिए ।
संसदीय अभ्यासमा युवराज खडका र युवराज जोसीले प्रशिक्षण दिएका थिए । युवाले सञ्चालन गरेको नमूना युवा सांसद अभ्यास कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख असबिर बुढाथोकी युवाले संसदीय अभ्यासमार्फत युवाका मुद्दालाई स्थानीय तहबाट स्थापित गर्ने दबाब दिएको बताए । युवाहरूले संसदीय अभ्यास मार्फत गाउँसभा चलाएको देख्दा नेतृत्व बिकासमा टेवा पुग्ने उनको अपेक्षा छ । यो अभ्यास गाउँपालिकाका युवाहरूका लागि निकै प्रभावकारी र सकारात्मक रहेको भन्दै उनले यस्तो खालको अभ्यासले युवाहरूमा राजनीतिक अभ्याससँगै नेतृत्व क्षमताको विकास हुने उनको भनाइ थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मल्ल चन्दले युवाले समग्र नेतृत्व विकास र क्षमता विकास गरी अगाडि बढेमा भविष्यमा कुशल राजनितिज्ञ बन्न सक्ने बताइन् । उनले देश विकासको मूलप्रवाहमा युवाहरूको भूमिका र उनीहरूलाई क्रियाशील र जिम्मेवार बनाउन यी र यस्ता खालका कार्यक्रमहरूको महत्व हुने बताइन । कार्यक्रममा सहभागीहरूले संसदीय अभ्यास तालिमले पालिका बाट प्रस्तुत हुने बजेट, नितिकार्यक्रम र बिकास निर्माणका बिषयमा जान्न पाएको बताएका थिए ।