© २०२३
बुटवल,२६ पुस । क्रिकेटर सन्दीप लामिछानेले आफू आर्थिक संकटमा परेका बताएका छन् । जिल्ला अदालत काठमाडौँबाट ८ वर्षको कैद सजायको फैसला भएसँगै राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरेको पत्र क्रिकेट संघलाई पठाउंदै उक्त पत्रमा आफू आर्थिक संकटमा पनि परेको उल्लेख गरेका छन् । नेपाल क्रिकेट संघका अध्यक्ष चतरबहादुर चन्द र सचिव पारस खड्कालाई बुधबार एक पत्र लेख्दै सन्दिपले आफू आर्थिक समस्यामा परेकाले क्यानबाट रोकिएको भुक्तानी फुकुवा गरिदिन पनि आग्रह गरेका छन् । यस्तै कम खेलमा नै १०० विकेट लिने विश्व कीर्तिमान आफ्नो नाममा बनेकामा खुसी व्यक्त गर्दै सन्दीपले कतिपय कठिन समयमा पनि देशका लागि खेलेको स्मरण गरेका छन् । उनले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन जान लागेको र त्यहाँबाट निर्दोष भएको खण्डमा पुनः क्रिकेटमा फर्किने बाचा पनि गरेका छन् । अदालतबाट निर्दोष प्रमाणित नहुञ्जेलसम्म क्यानले राष्ट्रिय क्रिकेट टिमबाट म अलग्एिको छु। म आशा गर्दछु कि क्यानले यो निर्णयलाई सहज रुपमा लिनेछ’, उनले भनेका छन् ।
सन्दिपलाई बलात्कारको आरोपमा सजायको फैसलापछि गण्डकी प्रदेशका एक सांसदले विदेशीको इशारामा फसाइएको आरोप लगाएका छन् । बागलुङका सांसद कृष्ण पाठकले उनलाई अरूले नै फसाएको तर्क गरेका हुन् ।
‘एउटा होनहार क्रिकेटरलाई विदेशीहरूको इसारामा बली चढाइयो’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन् । उनको स्ट्याटसमा कसैले समर्थन गरेका छन् भने केहीले विरोध गरेका छन् । पाठक एमालेको समानुपातिक सूचीबाट सांसद बनेका हुन् ।