© २०२३
सल्यान, २५ पुस ।
विद्यालय स्तरका खेलाडीहरूको खेल प्रतिभाको विकास र प्रष्फुटन गर्नका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकामा विहिबारदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु हुनेभएको छ । पालिका स्तरिय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सबै तयारी पुरा भइसकेको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ ।
वडा नम्बर ६ स्थित शारदा माध्यमिक विद्यालय शंखमुलको खेलमैदानमा हुने प्रतियोगितामा पालिकाभित्रका ९ वटा विद्यालयले भाग लिने गाउँपालिकाका प्रवक्ता फौद बहादुर वस्नेतले जानकारी दिए । यही पुस २८ गते सम्म सञ्चालन हुने प्रतिगोगिता अन्तर्गत विहिबार विहान ११ बजेदेखि उद्घाटन सत्र चल्ने छ ।
रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्राको भलिबल, कबड्डी, एथ्लेटिक्स तर्फ दौड, उफ्रने, फ्याक्ने खेलहरु सञ्चालन हुनेछन् । यस्तै मार्सल आर्ट तर्फ कराते, तेक्वान्दो, उसुका खेलहरु पनि सञ्चालन हुने गाउँपालिका स्तरिय खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र चन्दले जानकारी दिए । प्रतियोगितालाई सभ्य र सफल बनाउन गाउँपालिकाले शिक्षा अधिकृत केशर वलीको संयोजकत्वमा व्यवस्थापनका लागि जिम्मेवारी बाँडफड पनि गरेको छ ।